काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार (आज) सङ्घीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्ष (आव) २०८२/०८३ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।
यस्तै, सहकारीको तथ्याङ्क व्यवस्थित गर्न सरकारले विद्युतीय सूचना प्रणाली स्थापना गर्ने उल्लेख गरिएको छ । सहकारीको यकिन तथ्याङ्क नहुँदा समस्या समाधानमा असहज भइरहेको थियो ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि समस्याग्रस्त सहकारीमा रु पाँच लाखभन्दा थोरै बचत भएका पीडितलाई बचत फिर्ता गर्ने भनी उल्लेख गरिए पनि हालसम्म फिर्ता हुन नसकेको सहकारीपीडितको गुनासो छ । रासस