काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले डिप्लोमा इन्जिनियरिङ् काउन्सिल छिट्टै गठन हुने बताएका छन् ।
डिप्लोमा इन्जिनियर्स एशोसिएसनको ४५ औं वार्षिकोत्सव एवम् विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यशालामा उनले काउसिन्ल गठनको प्रक्रियासमेत शुरु भइसकेको बताए ।
कार्यक्रममा मन्त्री दाहालले जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबै पक्ष लाग्नुपर्ने बताए । प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य, प्राणी र पर्यावरणका लागि हानिकारक रहेको उल्लेख गर्दै उनले विकल्पहरूको विकास गरि यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने उल्लेख गरे ।
सबै स्थानीय तह, प्रदेश एवम् संघीय सरकारले नागरिकको सहभागितामा वातावरण संरक्षणका कार्यक्रम अघि सार्नुपर्नेमा उनको जोड थियो । जलवायु परिवर्तन, प्लाष्टिक तथा विश्व वातावरणको विषयमा कार्यशालाको आयोजना गरिएको थियो ।
कार्यक्रममा इन्जिनियरिङ् क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य एवम् एशोसिएसनका अध्यक्ष कामेश्वरप्रसाद सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।