काठमाडौं । कोभिड–१९ महामारीको प्रभाव र रूस–युक्रेन तनावका कारण विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै शिथिल बनेको नेपाली अर्थतन्त्रले विस्तारै सुधारको लय समाउन थालेको छ । विप्रेषण आप्रवाहमा वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति उच्च बिन्दुमा पुगे पनि मुख्य क्षेत्रको आयात घट्दा अर्थतन्त्रका सूचकहरू सबल देखिएका छन् ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गत आर्थिक वर्ष (आव) २०८०/८१ को देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमार्फत अर्थतन्त्रको बाह्य क्षेत्र सबल बनेको तथा आन्तरिक गतिविधिमा पनि सुधार हुन थालेको बताएको छ । प्रतिवेदनले चालू खाता, शोधनान्तर अवस्था, विदेशी मुद्रा सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सबल भएको औंल्याएको छ । यसैगरी बैंकमा निक्षेप तथा कर्जा प्रवाह बढेको, तरलताको अवस्था सहज रहेको तथा आधारदर र कर्जाको ब्याजदर एकल अंकमा झरेकाले आन्तरिक अर्थतन्त्र पनि लयमा फर्किन थालेको संकेत गरेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट आर्थिक सूचकहरू सुविधाजनक अवस्थामा भएकाले यसलाई पूँजीकृत गर्न सार्वजनिक र निजीक्षेत्रले काम गर्नुपर्ने बताउँछन् ।
‘तथ्यांकले हाम्रो अर्थतन्त्रको अवस्था सहज देखाएको छ,’ उनले भने, ‘यसलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै सरकार र निजीक्षेत्रका लागि काम गर्ने अवसर आएको छ ।’ बैंकिङ प्रणालीमा जम्मा भएको पूँजीलाई निजीक्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी गर्ने र सरकारले विकास निर्माणका कामलाई अघि बढाउने हो भने यसले छिटो प्रतिफल दिने उनको भनाइ छ ।
राष्ट्र बैंकले गत आवमा निजीक्षेत्रतर्फ जाने कर्जा ११ दशमलव ५ प्रतिशतले विस्तार हुने लक्ष्य राखेको थियो । तर, गतवर्षभरिमा बैंकहरूबाट ५ दशमलव ८ प्रतिशतले मात्र कर्जा विस्तार भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आव २०८०/८१ मा ३ दशमलव ८७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । गतवर्ष कृषिक्षेत्रको वृद्धि ३ दशमलव शून्य ५ प्रतिशत, उद्योग क्षेत्रको १ दशमलव २५ र सेवाक्षेत्रको ४ दशमलव ५० प्रतिशत रहेको अनुमान छ ।
राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा १२ दशमलव ५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । यसैगरी मौद्रिक नीतिलाई व्यवसायीको मागअनुसार लचिलो पनि बनाएको छ । यसबाट बैंकहरूको कर्जा प्रवाह बढ्ने र आर्थिक गतिविधि बढ्ने अनुमान राष्ट्र बैंक र सरकारी अधिकारीहरूको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल अर्थतन्त्रमा केही गतिशीलता देखिए पनि पूर्ववत् अवस्थामा भने पुग्न नसकेको बताउँछन् । ‘उद्योगहरू ४० प्रतिशतभन्दा कममा चलिरहेका छन् । साना तथा मझौला उद्योगका लागि बजार बढेको छैन । बन्द भएका सटर खुल्न सकेका छैनन्,’ उनले भने, ‘तर, विगतमा भन्दा बजारमा चहलपहल बढेको देखिएको छ । आर्थिक गतिविधि बढेको छ ।’
विगतमा तरलता अभाव झेलेका बैंकहरूमा गत आवदेखि यो पर्याप्त छ । तरलता बढ्दै गएपछि बैंकको ब्याजदरसमेत घट्दै एकल अंकमा आइसकेको छ । विगतमा ब्याजदर महँगो भयो, व्यवसाय गर्न कर्जा पाएनौं भन्ने निजीक्षेत्रका लागि अहिले अवसर सृजना भएको योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।
‘बाह्य सूचकहरू सबल अवस्थामा हुँदा वित्तीय क्षेत्रमा तरलता उपलब्ध छ,’ उनले भने, ‘यसलाई निजीक्षेत्रले अवसरको रूपमा लिएर उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्छ ।’ बैंकिङ क्षेत्रको तरलता लामो समय नटिक्ने भएकाले यसलाई छिटो सदुपयोग गर्नुपर्ने आवश्यकता श्रेष्ठले औंल्याए ।
निजीक्षेत्रले भने लगानीको वातावरण बनाउनुपर्ने तर्क गर्दै आएको छ । राजनीतिक अस्थिरतासँगै आउने नीतिगत अस्थिरताले गर्दा लगानीको वातावरण बन्न नसकेको निजीक्षेत्रको गुनासो रहँदै आएको छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चिति, शोधनान्तर र चालू खाता बचत हालसम्मकै उच्च बिन्दुमा पुगेका छन् । विप्रेषण आप्रवाह पनि लगातार बढिरहेको छ । विदेशीको आगमन बढ्दा पर्यटन आय पनि बढेको छ । तर, बजारमा उपभोग्य वस्तुको माग कमजोर हुन पुग्दा आयात घटेको छ । यसैगरी गैरखाद्य र सेवाको मूल्य वृद्धिदर घट्दा समग्र मूल्य वृद्धिदर पनि न्यून बिन्दुमा झरेको छ ।