काठमाडौं । आन्तरिक आर्थिक गतिविधिमा केही सुधारको संकेतस्वरूप बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाह हुने कर्जामा केही सुधार भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।
लामो समयदेखि बजारमा कर्जाको माग न्यून हुँदा बैंक, वित्तीय संस्थाहरू अधिक तरलताको स्थितिबाट गुज्रिरहेका छन् । फलस्वरूप निक्षेप तथा कर्जाको ब्याजदर घट्न पुगेको छ । बैंकमा पैसा थुप्रिरहँदा देशमा आर्थिक गतिविधिमा शिथिलता छाएको छ भने सरकारले लक्ष्यअनुसार राजस्व परिचालन गर्न सकेको छैन ।
तर, राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा बैंक, वित्तीय संस्थाबाट चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो २ महीनामा निजीक्षेत्रतर्फ जाने कर्जा ७३ अर्ब ३९ करोड रुपैयाँले बढेको उल्लेख छ । यसको अर्थ उक्त अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा कर्जा १ दशमलव ४ प्रतिशतले बढेको हो ।
अघिल्लो आवको सोही अवधिमा ३३ अर्ब ६० करोड रुपैयाँले मात्र निजीक्षेत्रतर्फको कर्जा बढेको थियो । यो वृद्धि शून्य दशमलव ७ प्रतिशत हो ।
- मुद्रास्फीति ३.८५ प्रतिशत
- आयात १.१ प्रतिशतले बढ्दा निर्यातमा ५.१ प्रतिशतको कमी
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले वृद्धि
- शोधनान्तर स्थिति १०१ अर्ब ७७ करोड रुपैयाँले बचतमा
- कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ
- निजीक्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढ्यो
निजीक्षेत्र अगुवाहरूले बजारमा समग्र मागमा सुधार नआएको भन्दै बैंक, वित्तीय संस्थाबाट थप कर्जा लिन नसकेको बताउँदै आएका छन् । गत आव उत्पादनशील (म्यानुफ्याक्चरिङ) उद्योग र निर्माण क्षेत्र नकारात्मक वृद्धिमा गएको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ ।
कर्जा विस्तार बढाउने उद्देश्यले राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति लचिलो बनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट लिने ऋणको ब्याजदर, चालू पूँजी कर्जा मार्गदर्शन, घरजग्गा, शेयर कारोबार र बैंक तथा वित्तीय संस्थाको सञ्चालन मुनाफा वृद्धिसम्बन्धी व्यवस्थामा खुकुलो नीति लिएको छ । यो नीतिगत व्यवस्थाले कर्जा विस्तारमा भूमिका खेल्न सक्ने अनुमान राष्ट्र बैंकको छ । चालू वर्षको पहिलो २ महीनामा कर्जा विस्तारमा सामान्य सुधार आएको छ ।
निजीक्षेत्रले बजारमा माग सृजना नभएको बताइरहँदा त्यसको प्रभाव मुद्रास्फीति (महँगी वृद्धिदर) मा देखिएको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही महीनामा यस्तो मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत थियो । भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव शून्य ३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव १९ प्रतिशत रहेको छ । बजारमा वस्तु तथा सेवाको माग कम हुँदा सामान्यतया मूल्य वृद्धि पनि न्यून हुने गर्छ । भारतको मूल्यवृद्धि र स्वदेशको आपूर्ति स्थितिले पनि वस्तु तथा सेवाको मूल्यवृद्धि निर्धारण गर्ने गर्छ ।
राष्ट्र बैंकका अनुसार अर्थतन्त्रको बाह्य अवस्था भने सुढृढ छ । भदौसम्ममा विप्रेषण आप्रवाह १५ दशमलव २ प्रतिशतले बढेर २६३ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो । विप्रेषण देशमा विदेशी मुद्राको मुख्य स्रोत रहँदै आएको छ ।
देशमा विदेशी मुद्रा सञ्चिति पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा देशको ढुकुटीमा १६ अर्ब ४ करोड अमेरिकी डलर (२१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ बराबर) विदेशी मुद्रा जम्मा भएको छ । उक्त विदेशी मुद्रा सञ्चिति १६ दशमलव ८ महीनाको वस्तु आयात र १३ दशमलव ७ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकको भनाइ छ । उच्च विप्रेषण भित्रने क्रम जारी रहँदा आयातमा खासै बढोत्तरी नभएकाले पनि विदेशी मुद्रा सञ्चिति बढेको हो । राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो २ महीनामा कुल वस्तु आयात १ दशमलव १ प्रतिशतले बढेर २६२ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ
शोधनान्तर स्थिति १०१ अर्ब ७७ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोड रुपैयाँले बचतमा थियो ।