दमौली (तनहुँ) । विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगमा पिङ हाल्ने क्रम बढेको छ । दशैंका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सोहीबमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्लबहरूले लिङ्गे तथा रोटे पिङ हालेर संस्कृति संरक्षणमा जुटेका छन् ।
भानु नगरपालिका–१३ सम्जुरमा युवाहरूले ६ पिर्के रोटे पिङ बनाएका छन् । पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल भएपछि आफूहरूले रोटे पिङ बनाएको सम्जुरका युवा अर्जुन बानियाँले बताए । उनले भने, “विगतमा दशैं शुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो । तर, आजभोलि समय त्यस्तो छैन । गाउँमा युवा नै पाउन छाडियो ।”
वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि गाउँमा पिङ देख्नै छाडिएको उनको भनाइ छ । उनले भने, “पिङको संस्कृति संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी गाउँमा भएका युवा मिलेर पिङ हालेका छौं ।”
यस्तै, व्यास नगरपालिका–१२, कमलाबारीमा अकला युवा क्लबले लिङ्गे पिङ बनाएको छ । दशैंमा पिङ हाल्ने संस्कृतिको संरक्षणका लागि युवाहरू मिलेर पिङ हालेको क्लबका तारा पन्थले बताए । उनले भने, “पिङ हालेको देखेपछि दशैं आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाइजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाइजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन रहँदै आएको छ ।”
म्याग्दे गाउँपालिका–१ गुणादीमा फ्रेण्डसिप युवा क्लब, व्यास नगरपालिका–१० बैरेनी, शुक्लागण्डकी नगरपालिका–११ थामडाँडा, व्यास नगरपालिका–३ दमौलीमा पनि रोटे तथा लिङ्गे पिङ हालिएको छ । रासस