काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व रमदान मंगलवार शुरु भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार (रोजा) बस्ने गर्छन् । व्रत बस्ने र साँझ चन्द्रमा हेर्न आकाशतिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ ।
रमदान उर्दू क्यालेण्डरअनुसार नवौं महीना हो । यस महीनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको तथा यही महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने जनविश्वास छ। रमदानमा दान दिनु, गरीब र दीनदुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महीनाको ठूलो विशेषता हो ।
कीर्तिपुर बस्ने साविर अलीका अनुसार रमदान महीना मुसलमानका लागि निकै महत्त्वपूर्ण हो । यो पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । यसको सामाजिक महत्त्वसमेत छ । कुलतमा लागेका मानिस एक महीना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन ल्याउन समेत यसले मद्दत मिल्ने अली बताउँछन् ।
काठमाडौंको जामे मस्जिद्मा इस्लाम धर्मावलम्बीहरूले प्रार्थनाका लागि जम्मा हुने गरेका छन् । धर्मसँगै कर्मसमेत गरिरहेका यस समुदायका मानिस जामे मार्केटमा सेबई, छोकडालगायत वस्तु खरीदविक्री समेत गरिरहेका भेटिन्छन् ।