म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँधस्थलसम्म पहुँच मार्ग पुर्याएपछि अन्य संरचना निर्माण थालिएको हो ।
कुनौटोदेखि विद्युतगृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए ।
कुनौटोदेखि दरखोलाको दायाँ किनार हुँदै दर गाउँको फेदीतर्फ पेनस्टक पाइप राख्ने करिब २ किलोमिटर कच्चि सडकको ट्याक निर्माण भइसकेको छ । तीन वटा डोजर परिचालन गरिएको छ । सोलवाङमा निर्माण हुने विद्युतगृहसम्म पानी लैजान तीन किलोमिटर एक सय मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताए ।
५४८ मिटर उचाइबाट विद्युतगृहमा पानी खसालेर उत्पादन गरिने विद्युत ७ किलोमिटर लामो प्रसारण लाइन बनाएर डाडाखेत सबस्टेशनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गराइनेछ । सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत खरिद विक्री सम्झौता, जग्गा खरिद र वित्तीय स्रोत व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माण थालिएको हो ।
विसं २०८३ को फागुनभित्र विद्युत उत्पादन गर्ने कार्यतालिका छ । रन अफ द रिभर (नदी प्रवाहमा आधारित) प्रकृतिको यो आयोजना निर्माणमा करिब रु १ अर्ब लगानी हुने अनुमान गरिएको छ । रासस