काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार (आज) दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । ग्रीन भेन्चर्स र सर्वोत्तम सिमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले ती कम्पनीको शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले सर्वोत्तम सिमेन्टको ७ प्रतिशत र ग्रीन भेन्चर्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात ग्रीन भेन्चर्सको शेयर मूल्य रू. ५१० दशमलव ४५ र सर्वोत्तम सिमेन्टको रू. ७१४ दशमलव ६७ कायम भएको छ ।
नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बिहीवार दोस्रो बजारमा सर्वोत्तम सिमेन्टको शेयर रू. ७६४ दशमलव ७० र ग्रीन भेन्चर्सको शेयर रू. ५६१ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर आगामी आइतवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।