काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो दुई महीनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।
प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो । भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट र भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ ।
दुई महीनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा छ । साउनको प्रतियुनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा छ ।
भदौको तेस्रो साता (१६–२३ गते)मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालू आवको दुई महीनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् विक्री भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताए । ‘चालू आवमा करीब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् विक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा विक्री गरिरहेको छ ।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् विक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् विक्री गर्न स्वीकृति पाएको छ ।
बाढीपहिरोभन्दा पहिले दैनिकरूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिकरूपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ ।
बाढीपहिरो कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करीब ७५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।