बागलुङ । बागलुङको तमानखोला गाउँपालिका विकट पहाडी क्षेत्र भएकाले यहाँका कृषकलाई निकै समस्या छ । खानेपानीको मुहान निकै टाढा–टाढा हुँदा सिँचाइको व्यवस्थापन गर्न कठिनाइ छ । तर सिँचाइको व्यस्थापना गर्न समस्या भए पनि उत्पादनका आधारमा खेतीयोग्य जमीनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउनेतर्फ गाउँपालिका लागिपरेको छ । गाउँपालिकाले पाँचओटै वडालाई पकेट क्षेत्रका रूपमा वर्गीकरण गरेको छ ।
वडा नं ४ को लाम्मेलालाई आलु पकेट क्षेत्रको रूपमा घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त वडालाई आलु पकेट क्षेत्र घोषणा गरेर कृषकलाई आधुनिक उपकरण, उन्नत जातका बीउमा वितरण गरी साना सिँचाइ परियोजनासमेत सञ्चालन गर्ने गरी योजना अगाडि बढाइएको गाउँपालिकाका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताए ।
तमान गाउँका ३५० बढी घरका कृषकले आलु उत्पादन गर्दै आएका छन् । लामो समयदेखि परम्परागत रूपमा आलु उत्पादन गर्दै आएका यहाँका स्थानीयवासीलाई पकेट क्षेत्र घोषणा गरी अनुदान प्रदान गर्ने र व्यावसायिक बनाउनेतर्फ गाउँपालिका लागेको उनको भनाइ छ । लाम्मेलाका हरेक कृषकले वार्षिक न्यूनतम पाँच सय किलोदेखि माथि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको कृषि शाखाले बताएको छ ।
पालिकाले लाम्मेलासँगै वडा नं ६ को नर्जाखानी, वडा नं २ को मुठाचौर लगायत ठाउँलाई पनि आलु पकेट क्षेत्र विस्तार गरेको छ । यी वडाबाहेक आलु उत्पादन हुँदै आएका अन्य क्षेत्रमा पनि आधुनिक तरीकाले खेती गर्न किसानलाई प्रोत्साहन गरिने गाउँपालिकाले बताएको छ । यस वर्ष नयाँ पकेट क्षेत्रका लागि १० लाख र पुरानोलाई निरन्तरता दिन पाँच लाख गरी १६ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।
कृषकलाई आवश्यक बीउबिजन, तालीम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको अध्यक्ष बुढा मगर बताए । खेतीयोग्य जमीनको वर्गीकरण गरी कृषकलाई अनुदानसँगै सिँचाइको व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएर लागेको उनको भनाइ छ । रासस