काठमाडौं । सात महीनादेखि दूध बेचेको पैसा नपाएर सडक संघर्ष गरिरहेका दुग्ध उत्पादक किसान, सरकार र डेरी उद्योगीबीच अधिकांश बक्यौता असार २७ गतेभित्र भुक्तानी गर्ने सहमति जुटेको छ । यससँगै किसान आन्दोलन स्थगित गर्न सहमत भएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्र, राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड लगायत डेरी उद्योगीबीच आइतवार किसानका माग पूरा गर्ने सहमति भएको हो ।
डेरी उद्योगीहरूले २०८० चैतसम्म किसानलाई तिर्न बाँकी रकम यही असार २७ गतेभित्र तिरिसक्ने समय तोकेर सहमति भएको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । संघका सचिव थानेश्वर सापकोटाले यथाशीघ्र किसानलाई रकम भुक्तानी गर्न आफूहरूले बारम्बार उद्योगी र मन्त्रालयसामु माग राखे पनि बेवास्ता हुँदै आएकोमा आइतवार सहमति जुटेको बताए ।
‘चैतसम्मको बक्यौता असार २७ सम्म भुक्तानी गरिसक्ने सहमति भएको छ । वैशाख र जेठको बक्यौता भुक्तानी पनि आगामी भदौभित्रै गरिसक्ने सहमति भएको छ,’ उनले भने । अबदेखि दुग्ध उद्योगीले किसानसँग दूध खरीद गरेबापत हरेक महीना दुई किस्तामा रकम भुक्तानी गर्नुपर्ने छ ।
चैतसम्मको दूधको बक्यौता असार २७ भित्रै भुक्तानी साथै उद्योगीसँग मौज्दात रहेको धुलो दूध र बटर अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न मन्त्रालयले पहल गर्ने र त्यसैलाई मौज्दात मानी कर्जा प्र्रवाहको लागि नेपाल राष्ट्र बैंकमा पहल गर्ने विषयमा पनि सहमति भएको छ ।
६ लाख किसानले ७ महीनादेखिको करीब ४ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ । उक्त भुक्तानी माग गर्दै किसानले आन्दोलन गरिरहेका थिए । किसानलाई भुक्तानी दिन सरकार र डेरी उद्योगीबीच पटकपटक सम्झौता भए पनि त्यसको कार्यान्वयन भएको छैन । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरूले किसानको करीब ४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । संस्थानले मात्रै करीब २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।