काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले कात्तिक १७ गते ११ औं वार्षिक साधारण सभा गर्ने भएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा उक्त दिन बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्जमार्फत सार्वजनिक सूचनामा लाभांश प्रस्ताव भने समावेश छैन । यस आधारमा कम्पनीले लाभांश प्रस्ताव समावेश नगरेको देखिन्छ ।
गत वर्ष अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट ५ दशमलव २६ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाउने भएको हो । कम्पनीले हालसम्म तीन आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेको छ ।
यसअघि आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट २ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट भने ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
११औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधरामा असोज २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।