काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको शुरुआत गरेको छ । यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ ।
क्रिएट, कम्पिट, कन्कर भन्ने नारासहित शुरू भएको यस अभियानअन्तर्गत प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्छ ।
प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् । साथै पुरस्कारका रूपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन् ।
सहभागी प्रतियोगीहरूलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्वहरू र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्नेछन् ।
‘यो केवल प्रतियोगिता मात्र होइन, यो एक सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरशिप, कार्यशालाहरूसँगै चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू रहेका छन्,’ एनसेलकी मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन् ।
उनले यस अभियानमार्फत,नयाँ पुस्ताका नेपाली डिजिटल सामग्री निर्माताहरूलाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिँदै सशक्त बनाउने प्लेटफर्म दिन खोजेको बताइन् ।
प्रतियोगिताका लागि शुक्रवार (जेठ १८)बाट दर्ता खुला गरिएको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात् क्रिएटर्सले सहभागिता जनाउन सक्छन् ।
सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राममा पोष्ट गर्नुपर्नेछ । यसरी पोष्ट गर्दा क्याप्सनमा एनसेललाई @Ncell ट्याग गर्दै तोकिएको आफ्नो मेन्टर जस्तै जस्तै #TeamSanjog र #NcellLeagueOfCreators2025 ह्यासट्याग ह्यासट्याग लेखिएको हुनुपर्छ । भिडियो पोष्ट गर्ने अन्तिम म्याद यही जेठ २७ सम्म रहेको छ ।
देशभरिबाट प्राप्त हुने भिडियोहरूबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्नेछन् । यसरी छानिने ५० जना क्रिएटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समूहहरूमा विभाजन गरिनेछन् । प्रत्येक समूह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन् ।
यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश छ, जसमा सहभागीहरूले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नु पर्ने हुन्छ र विज्ञ निर्णायकहरू त्यसको मूल्याङ्कन गर्नेछन् ।
‘लीग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले असार १४, २०८२ मा आयोजना गरिनेछ । उक्त कार्यक्रममा विजेताको घोषणा गरिनेछ । साथै उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरिनेछ ।
विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्नेछ । यस्तै, नेपालका शीर्ष क्रिएटर्सहरूसँग विशेष प्रशिक्षणलगायत अवसर पनि पाउनेछन् ।
साथै एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिहरूले सहभागी क्रिएटर्सहरूको सामग्रीको मूल्यांकन गर्नेछन् ।
यस प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने एनसेलले जनाएको छ । तर, सहभागीहरू अभियान अवधिभर नेपालमै हुनु आवश्यक छ ।