काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनी चालू आवको तेस्रो त्रैमाससम्म रू. ५ करोड ९८ लाख नोक्सानीमा छ ।
गत आवको तेस्रो त्रैमाससम्म भने कम्पनी रू. ७ करोड २७ लाख नाफामा थियो । चालू आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा नोक्सानीमा गएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ७ करोड ७५ लाख छुट्याएकोमा चालू आवमा रू. १८ करोड ६० लाख छुट्याएको छ ।
त्यस्तै गरी कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा १९ प्रतिशत घटेको छ । गत आवमा रू. २० करोड ६२ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवमा रू. १६ करोड ६४ लाख मात्र कमाएको हो ।
त्यस्तै गत आवमा ३ दशमलव ९३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा १० दशमलव २९ प्रतिशत पुगेको छ । चुक्तापूँजी रू. ११ करोड ६ लाख रहेको कम्पनीले जगेडामा रू. १७ करोड ७० लाख सञ्चित गरेको छ । कम्पनी नोक्सानी रहेसँगै प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ५३ पैसा ऋणात्मक छ । त्यस्तै तरलता अनुपात १० दशमलव शून्य ६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३३४ दशमलव १८ रहेको छ ।
कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि स्वीकृति पाएको छ । स्वीकृति पाएसँगै कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।