नवराज शिवाकोटी
दोलखा । गाई आनुवंशिक स्रोतकेन्द्र, जिरीबाट दैनिक ३ सय लिटर दूध उत्पादन हुने गरेको छ । केन्द्रमा रहेका ४० ओटा दुहुना गाईबाट दैनिक उक्त परिमाणमा दूध उत्पादन हुने गरेको हो । उत्पादित दूध प्रतिलिटर ५४ रुपैयाँ १५ पैसामा विक्री भइरहेको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शंकर शाहले बताए ।
केन्द्रमा जर्सी तथा होलेस्टिन जातका गाईहरू रहेको शाहले जानकारी दिए । उनका अनुसार दुहुना गाई, कोरली तथा बाच्छाबाच्छी समेत गरी हाल केन्द्रमा ११६ गाई छन् । गतवर्ष केन्द्रले उन्नत नश्लका २६ कोरली गाई खरीद गरेको थियो । उन्नत जातका गाई तथा बंगुर पालन गरी किसानलाई बाच्छाबाच्छी तथा पाठापाठी विक्री–वितरण गरिँदै आएको केन्द्रले बताएको छ ।
६० लाखभन्दा बढी आम्दानी
केन्द्रले गत आव २०७५/७६ मा रू. ६० लाख १४ हजार आम्दानी गरेको शाहले जानकारी दिए । अघिल्लो आव २०७४÷७५ मा उसको आम्दानी रू. ४३ लाख ७५ हजार थियो । ‘उत्पादित दूध, गाईका बाच्छाबाच्छी, बंगुरका पाठापाठी तथा घाँसको बीउबिजन लगायत विक्रीबाट उक्त आम्दानी भएको हो,’ शाहले भने ।
सुक्खा मौसमका लागि जमारे घाँस
केन्द्रमा रहेका गाईहरूका लागि गत आवदेखि जमारे घाँसको उत्पादन गर्न थालिएको छ । हाइड्रोपोनिक प्रविधिबाट उत्पादित यो घाँस खुवाएपछि सुक्खा यामामा पनि दूध उत्पादन नघट्ने शाहले बताए । जमारे घाँसले दूध तथा मासुका लागि पालिने पशुलाई उच्च पोषण प्रदान गर्ने उनको भनाइ छ । जमारे घाँस तयार पार्न विभिन्न अनाजलाई पानीमा उमारिन्छ । यसरी उम्रिएको १०–११ दिनपछि पशुलाई दिन शुरू गरिन्छ । यसमा मलको प्रयोग गरिन्न । विशेषगरी सुुक्खा यामका लागि जमारे घाँस उपयुक्त हुन्छ ।
आनुवंशिक स्रोतकेन्द्रमा पशु बस्ने ठाउँको सुधार, दाना तथा घाँसको उचित व्यवस्थापन, स्वास्थ्य जाँच, औषधोपचार तथा निरन्तर अनुसन्धान जस्ता कार्य भइरहेको शाहले बताए । सोहीअनुसार उपलब्धि पनि हासिल भएको दाबी उनले गरे । राष्ट्रियस्तरमा गाईको आनुवंशिक स्रोत संरक्षण, संवद्र्धन, प्रवद्र्धन र सदुपयोगका लागि सरकारले साविकको जिरी पशु फार्मलाई गाई आनुवंशिक स्रोतकेन्द्रमा स्तरोन्नति गरेको हो ।