काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो ।
बिहीवार आयोजित एक कार्यक्रमकाबीच बैंक सञ्चालक कृष्णप्रसाद शर्मा, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा उक्त चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन् । गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटु सिंगल गनको ४० किलोवाट क्षमता रहेको बताइएको छ ।
उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीलाई आफ्नो ईभी गाडी चार्ज गर्ने व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकको सवारीसाधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको बताइएको छ ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक शर्माले बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखी वातावरण अनुकूल ईभी सवारीसाधनको प्रवर्द्धनको एक पहलको रूपमा चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए । साथै उनले बैंकले आफ्नो व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपाय अवलम्बन गरिरहेको समेत उल्लेख गरे ।