काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत १९ बाणिज्य बैंकहरुम्ध्ये हालसम्ममा आठ बाणिज्य बैंकले गत आव २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक,एभरेष्ट बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले गत आवको मुनाफाबाट लाभां घोषणा गरेका हुन ।
यी मध्ये तीन एभरेष्ट बैंक , सानिमा बैंक र सिटिजन्स बैंकले लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् । एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ५३ प्रतिशत लाभांश दिएको हो । त्यस्तै सानिमा बैंकले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश र सिटिजन्स बैंकले ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश दिएको छ ।
बाँकी प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक,नबिल बैंक र ग्लोबल आईएमई बैंकले साधारण सभाको मिति तय गरेका छन् भने लक्ष्मी सनराज बैंकले साधारण सभाको मिति तय गरेको छैन ।
प्राइम कमर्सियल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि बैंकले भोलि अर्थात मङ्सिर १९ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ दशमलव ५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि बैंकले मङ्सिर २५ गते साधारण सभा बोलाएको छ ।
ग्लोबल आइएमई बैकले ५ दशमलव ५ प्रतिशत बोनस शेयर र नबिल बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन । यी दुबै बैंकले मङ्सिर २७ गते साधारण सभा बोलाएका छन् ।
साधारण सभा बोलाउन बाँकी लक्ष्मी सनराइज बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।