नेपालमा लोकतन्त्रको जुन परिभाषा छ, त्यो अनौठो छ र यो कुनै शब्दकोशमा भेटिँदैन । यो हाम्रै विशेष उत्पादन हो । त्यसैले नेपाली हावामाटो सुहाउँदो । राजा महेन्द्रले उतिबेलाको प्रजातन्त्र नेपाली हावामाटो सुहाउँदो भएन भनेर पञ्चायती व्यवस्था ल्याएका थिए । नेताहरूले लोकतन्त्र ल्याए र त्यसलाई नेपाली हावामाटो सुहाउँदो बनाए ।
अहिले नेपालमा लोकतन्त्रको अभ्यास हेर्दा कहिलेकाहीँ यस्तो लाग्छ कि लोकतन्त्र भनेको एउटा अचम्मको सर्कस हो, जहाँ सांसद, मन्त्री र अझ प्रधानमन्त्री समेत जोकरका रूपमा नाटक मञ्चन गरिरहेका छन् ।
हामीकहाँ ‘लोकतन्त्र’ भनेको कुनै विधि, पद्धति र सिद्धान्तको कोरा कुरा होइन । यो त आफ्नै किसिमको मौलिक ‘फन पार्क’ हो, जहाँ हाम्रा नेताजीहरू सत्ता र पदको ‘रोलर कोस्टर’मा मच्चिरहेका हुन्छन्– कहिले माथि, कहिले तल । आज यो पार्टी, भोलि त्यो पार्टी । अहिले यो विचार, भोलि त्यो विचार । यताबाट उता, उताबाट यता । एक दिन यसो भनिदिन्छन्, अर्को दिन त्यसो भनिदिन्छन् । लाग्छ कि उनीहरू कुनै ‘रियालिटी शो’मा आआफ्ना भूमिका निभाइरहेका छन् ।
लोकतन्त्रको आत्मा संसद् हो भनिन्छ । हाम्रो संसद्कै कुरा गरौं । यसलाई हाम्रो देशमा ‘काम प्राप्ति केन्द्र’ भनेर पनि बुझ्न सकिन्छ । कसैकसैले यसलाई दलका ‘कार्यकर्ता भर्ती केन्द्र’ भनेर पनि बुझ्छन्, जहाँ हरेकले आफ्नो ‘ड्रिम जब’ पाउँछन् । अर्थात् केही नगरी तलबभत्ता पाउने काम । जबसम्म तिमी संसद्मा हात उठाउन सक्छौ र ‘म नेताको कुरामा पूर्ण सहमत छु’ भन्न सक्छौ, तबसम्म तिमीले ‘काम’ पाइरहनेछौ । अनि तलब त स्वर्गीय हिसाबमै पाउँछौ । पत्रपत्रिका, टेलिफोन, चिया खर्चदेखि विदेश भ्रमणको टिकटसम्म र ती सबै जनताबाट हो र जनताकै लागि हुन् । त्यसैले लिङ्कनको भनाइ चाहिँ ठ्याक्कै मिल्छ, ‘जनताले जनताबाट जनताका लागि ।’
कत्तिलाई थाहा छैन होला कि संसद्मा हाम्रा सांसदहरू के छलफल गर्छन्, केका लागि बहस गर्छन् भनेर । यहाँ संसद् भवन भनेको केवल एक विशेष प्रकारको ‘च्याटरुम’ हो । यहाँ ‘चियर्स’ भन्दै सांसदहरूले चियाको गिलास उठाउँछन्, अनि कुनै गम्भीर विषयमा बहसको सट्टा भाषण गर्छन् । भाषण पनि कस्ता, जुन भाषणले उनीहरूका आआफ्ना समर्थकहरूलाई ताली बजाउन लगाउँछ, तर मुलुकका वास्तविक मुद्दाहरू भने बेहुलीजस्तै लाजले शिर निहुराएर बसिराखेका हुन्छन् ।
हाम्रो संसद्लाई खासमा संसद् भन्नुभन्दा अझ नाटकघर भन्नु उचित होला । किनकि सांसद नेताहरूको ड्रामा यति शक्तिशाली हुन्छ कि हास्य कलाकारहरू समेत आफ्नो रोजगारी खोसिने भो भनेर त्राहिमाम् भाछन् । अहिले त ‘अभिनेता’ र ‘राजनीतिज्ञ’बीचको फरक मेटिइसकेको छ । कुनै नेताजीको भाषण सुन्नुहोस् त, हलिउड बलिउडलाई पनि चुनौती दिने खालको हुन्छ । ‘बीस वर्षमै बिहे गरेर विदेश जानुपर्छ’ भन्नेजस्ता ‘हिट डाइलगहरू’ त सुन्नुभएकै होला नि ।
तर संसद् भनेको केवल भाषण दिने ठाउँ मात्र होइन है । यो त विज्ञापनको खुला मैदान पनि हो । यहाँ हरेक सांसदले ठूल्ठूलो स्वरमा आआफ्नो ठेकेदारको डम्फु बजाइरहेका हुन्छन् । त्यसैले हिजोआज सिंगो संसद् नै विभिन्न बिचौलियाहरूको व्यापार चलाउने ‘शोरूम’ भएको छ । यो टेण्डर, त्यो टेण्डर । अनि राज्यको ढुकुटी निजी ‘कर्पोरेट चन्दा कोष’ जस्तो भएको छ । कहिले पुल बन्यो त कहिले बाटो बन्यो भन्छन् । तर यथार्थमा चाहिँ नेताजीको बैंक खाता मोटो बन्यो ।
त्यसैले संसद्लाई म के भनौं ? जनताको भर गर्ने ठाउँ भनौं कि, नाटक घर भनौं चलचित्रघर ? किनकि यहाँ नाटक मात्र होइन, सिनेमा पनि चलिरहेकै हुन्छ । अझ संसद्को लाइभ हेर्दा र दलदलका नेताहरूबीचको व्यक्तिगत किसिमको फाइट हेर्दा एउटा फुल कमेडी फिलिम हेरेजस्तो लाग्छ ।
संसद्को गतिविधि हेर्दा यस्तो लाग्छ कि वास्तवमा हाम्रा सांसदहरू पनि ‘प्रोफेशनल लडाकू’ बनिसकेका छन् । चुनाव जित्न, कुर्सी पाउन र कुर्सी टिकाउनको लागि । उनीहरूको अनुहारमा यस्तो देखिन्छ कि उनीहरू ‘अभिनयका लागि’ प्रशिक्षण लिएर संसद्मा आएका छन् ।
अझ प्रश्नोत्तर समयको समस्या अर्को छ । जनताका मुद्दाभन्दा नेताहरूका व्यक्तिगत झगडा चर्को छ । कोही कविता पढ्दै कसैलाई बाँदर भनिरहेको हुन्छ, एकछिन रातोपिरो भएर बोलिरहेको हुन्छ, एकछिनमै हाँसी हाँसी हात हल्लाइरहेको हुन्छ । प्रश्न सोधिन्छ, तर जवाफ आउँदैन । जवाफ आयो नै भने पनि उक्त जवाफको मतलब उसलाई मात्र थाहा हुन्छ, जसले दिन्छ । यहाँ प्रश्न सोध्नेलाई पनि उत्तरको आश हुँदैन । त्यसैले यहाँ प्रश्न र उत्तरको अर्थ कुनै खास हुँदैन । किनकि यो केवल ‘टाइम पास’ हो ।
हाम्रोमा संसद् भनेको फुटबल लिग खेलाइरहने खेलमैदानजस्तो पनि देखिन्छ, जहाँ खेलाडीहरूले खेल मात्र खेल्दैनन्, उनीहरू आफै खेलको नियम बनाउँछन्, अनि आफै नियम तोड्छन् पनि । अनि उनीहरू फुटबलरले जस्तै सधैं एउटै टिमबाट हैन, विभिन्न टिमबाट खेल्न सक्छन् । त्यसैले त उनीहरूका लागि एकपछि अर्को पार्टीमा गइरहनु संसदीय खेलकै केवल एउटा हिस्सा हो । यही नै अहिलको हाम्रो संसदीय किस्सा हो ।
शायद त्यसैले भन्ने गरिएको हो, राजनीति गर्नेहरूको लागि यो देश स्वर्ग हो । यहाँ न त कुनै परीक्षा पास गर्नुपर्छ, न कुनै क्वालिफिकेसनको आवश्यकता हुन्छ । सांसद बन्न, संसद् छिर्न यहाँ केवल ठूलो आवाज, ठूल्ठूला नारा अनि सस्तो लोकप्रियताको नक्कली सर्टिफिकेट भए मात्र पुग्छ ।
हाम्रो लोकतन्त्रको वास्तविक अर्थ बुझ्न चाहनुहुन्छ भने एक पटक हाम्रो संसद् चैं जानुहोस् है । त्यहाँ तपाईंलाई ‘रियालिटी शो’को भन्दा बढी नै मजा आउने ग्यारेण्टी छ । कोही सुत्ने तरखरमा हुन्छन्, कोही घुरिरहेका हुन्छन् । संसद् भनेको जनताका मनोरञ्जनका लागि बनाइएको, केवल केही सीमित नेता र सांसदहरूले मात्र खेलिरहने यस्तो खेल मैदान हो, जहाँ सर्कसमा जस्तै हरेक जोकरको विशेष भूमिका हुन्छ ।
त्यसैले समयमै यो सत्य थाहा पाउनुहोस् कि हामीकहाँ लोकतन्त्र भनेको कुनै गम्भीर सिद्धान्त, वाद वा तर्कको गरुँगो कुरा हुँदै होइन । यो त एक जोकतन्त्र हो, जहाँ हाँस्नलाई कहीँ गएर महँगा टिकट किनिरहनु पर्दैन । बोर लाग्यो भने स्वाट्ट संसद् छिर्नुहोस् वा लाइभ हेर्नुहोस्, जहाँ हरेक दिन ‘हास्यव्यंग्यात्मक नाटक’ चलिरहेकै हुन्छ । यही नै त हाम्रो लोकतन्त्रको मजा हो । त्यसैले हामी सबैलाई बधाई छ कि हामी यो यस्तो लोकप्रिय लोकतन्त्रको मजा लिन पाइरहेका छौं ।