अरू देशमा चार ऋतु हुन्छन्, हाम्रो देशमा भने ६ ऋतु । यस्तै पढिएको थियो । तर वास्तविकता त्यसो होइन रहेछ । हाम्रो देशमा ऋतु ६ मात्र होइन, सयौं रहेछन्– जसको आधार मौसम विज्ञान होइन, मन्त्रीविज्ञान हो । यहाँ ऋतु पनि सरकारी बजेटजस्तै कहिले आउँछ, कहिले हराउँछ र आउँदा पनि विनासूचना आउँछ । बिहेको ऋतु, चुनावको ऋतु, नियुक्तिको ऋतु, कमिशनको ऋतु । अझ कहिले भिजिट भिसाको ऋतु, कहिले गिरिबन्धुको ऋतु, खानपानको ऋतु, अनि कहिले जाँचको ऋतु, ‘ब्याकडोरबाट पास गराउनका लागि’ ।
- संसद् अब नीति बनाउने होइन, निहुँ खोज्ने अड्डा बनेको छ, सनसनी खबर उत्पादन गर्ने कारखाना बनेको छ । कहिले संसद् यस्तो रेस्टुरेन्ट बनेको छ, जहाँ सांसदहरू नियुक्तिको सिफारिस चाट्छन्, सचिवहरू कमिसनको काजु, बदाम टोक्छन् र जनता भने आफ्नै रित्तोपन चुस्दै छन् ।
अहिले प्रकृतिमा वसन्त ऋतु जाँदैछ र वर्षा अर्थात् मनसुन ऋतु भित्रँदैछ । तर सत्तामा वसन्त नै छ । फूलहरू फक्रिरहेका छन् । मिडियाले भनिरहेको छ, सबैतिर हरियाली छ । चर्न सक्नेहरू चरिरहेका छन् । चर्न नसक्ने वा चर्न नपाएकाहरू चर्काचर्का नारा लगाउँदै गरेका छन् । चर्न नसक्ने अर्को प्राणी अर्थात् जनतालाई नेताले घाँस हाल्छन्, त्यो पनि पाँच वर्षमा एकपल्ट । सत्तामा हुनेहरूका लागि त सधैं एउटै ऋतु हुन्छ, वसन्त ऋतु अर्थात् सधैं हरियाली ।
लोकतन्त्र अब पुरानो लुगाजस्तो भयो । अहिलेको नयाँ फेशन हो– लड्डुतन्त्र । तपाईं यसलाई लड्डु ऋतु पनि भन्न सक्नुहुन्छ । हो, त्यही चिनीमा केके मिसाएर बनाइएको सानो, डल्लो, मीठो लड्डु । त्यो मिठाई जसलाई आँखा नदेख्ने मानिसले बाँड्छन्, तर पनि आफ्नै मान्छेलाई मात्र पार्छन् । उनीहरूलाई अब लोकतन्त्र होइन, लड्डुतन्त्र चाहिएको छ । किनभने लोकतन्त्रले त सपना मात्र देखायो रे, लड्डुतन्त्रले कम्तीमा लड्डु त दिन्छ भन्ने छ ।
लड्डुहरू जति मिठा हुन्छन्, उति नै बदनाम पनि । जसले लड्डुको विरोध गर्छ, पायो भने उसैले खान थाल्छ । जब लड्डु बाँड्ने मौसम आउँछ मान्छेहरू मुख खोल्दै आँ आँ गर्दै हिँड्छन्, कतिबेला कसैले मुखमा पारिदेला भनेर होला । यहाँ मौसम यस्तो छ कि अहिलेका गिरोहहरू हातमा बन्दुक लिएर होइन, लड्डु लिएर निस्कन्छन् । आज एकजनाको मुखमा हाल्छन्, भोलि अर्कैको कलमबाट निकाल्छन् । सत्ता बन्दुकको नालबाट निक्लन्छ भन्नेहरू समेत हिजोआज त लड्डुबाट चल्छ भन्न थालेका छन् ।
त्यसैले अहिलेको तन्त्रलाई लोकतन्त्र भन्नु सही हुँदैन, बरु लड्डुतन्त्र भन्नु चैं उचित हुन्छ । लोकतन्त्रमा नेताहरूले जनतालाई जनार्दन अर्थात् भगवान् मान्नुपर्ने हो, तर अहिलेका चाहिँ सबैलाई भक्त ठान्छन्, जो प्रसादमा लड्डु पाएपछि फुरुंग हुन्छन् । लड्डु पाउँदैमा फुरुंग हुने जनतालाई त्यो लड्डु कहाँबाट आयोसँग मतलव छैन । तर लड्डु बाँड्न लोकतन्त्रको लिलामी चढाउनुपर्ने हुन्छ । त्यसैको तयारीस्वरूप हाम्रो सबै सिस्टम अहिले साहुजीहरूको कोठा जस्तो हुँदैछ । दुई–चार जना ठेकेदारहरू कोठाभित्र बसेर राष्ट्रिय आयोजनाहरूका ठेक्कामा, ठूला पदका नियुक्तिहरूमा बोली लगाइरहेका छन् ।
हुन पनि आजको दुनियाँ बजारमै आधारित त छ नि । यहाँ सबै कुरा बिक्न सक्छ– नाता, इमान, शरीर, आत्मा के छैन बजारमा विक्रीका लागि ? रमाइलो त यो छ कि एउटा ठाउँमा बिकेका मान्छे अर्को ठाउँमा किन्ने बन्छन् ।
त्यो दिन टाढा छैन– जब केही बचेखुचेका सीमित पत्रकारको मुख पनि मीठा लड्डुले भरिन्छन्, उसको आवाज पनि सधैंका लागि चुप हुन्छ ।
अब त सांसद मन्त्रीहरू संसद्मा नीतिगत बहस होइन, नालीमा सुन भेटियो वा कसले राजीनामा गर्यो भने देश स्वर्गै बन्छ भन्ने जस्ता बहसमा व्यस्त हुन्छन् । आफ्नै दलका सभापतिलाई नालीमा डुबेको देख्दैनन्, अरू दलको नेताको खुट्टा नालीमा परेको रे भनेर संसदै चल्न दिदैनन् । त्यै भएर जबर्जस्ती मन्त्री त बदलिन्छन्, तर नीति चैं खासै बन्दैन । नीति भनेको त्यो नून जस्तो छ, जुन सुन जस्तो देखिन्छ न स्वाद न रङ, तर ल्याउँछ तरंग ।
त्यसैले संसद् अब नीति बनाउने होइन, निहुँ खोज्ने अड्डा बनेको छ, सनसनी खबर उत्पादन गर्ने कारखाना बनेको छ । कहिले संसद् यस्तो रेस्टुरेन्ट बनेको छ, जहाँ सांसदहरू नियुक्तिको सिफारिस चाट्छन्, सचिवहरू कमिसनको काजु, बदाम टोक्छन् र जनता भने आफ्नै रित्तोपन चुस्दै छन् । नीतिको नाममा अब हावा मात्रै उड्छ र त्यो हावालाई पनि शायद करयोग्य बनाउने तयारी होला सरकारको ।
बजेट त अब योजना होइन, ठूला सपना देखाउने जेट बनेको छ, जसमा अर्थमन्त्रीले पेश गरेका विवरणहरूभन्दा बढी कुराहरू अनेकथरी संस्थाहरूले आयोजना गर्ने बजेटसम्बन्धी कार्यक्रमहरूमा प्रस्तुत हुन्छन् । बिचरा अर्थमन्त्री पनि छक्क पर्दा हुन्, उनैले बनाएर प्रस्तुत गरेको बजेटमा उनले नसोचेका थुप्रै कुराहरू पनि रहेछन् भनेर ।
यता, बजेट माग्न मरिहत्ते गर्ने तर खर्च फिटिक्कै नगर्ने मन्त्रीहरू काममा भन्दा बढी डान्स रियालिटी शो टाइपका कार्यक्रमहरूमा प्रमुख अतिथि भएर भाषण ठोक्नमै व्यस्त देखिन्छन् ।
व्यापारीहरू कर छूट खोज्दै मन्त्रीको ढोकामा घुँडा टेक्छन्, अनि मन्त्रीहरू देशभक्तिको भाषण दिँदै रात्रिभोज खान भेनिस या पेरिस उड्छन् । बजार सुस्त भयो, लगानी घट्यो भन्दाभन्दै एक हुल नेताहरू सिंगापुरको सपिङ मलमा देखिन्छन् । अनि जनताहरू भने मोबाइलमा टिकटक स्क्रोलिङ गर्ने गृहकार्यमा झुमिरहेका हुन्छन् ।
राजनीतिक बजार भनेको रमाइलो मेला चोक बनेको छ, जहाँ भावना छूटमा, सिद्धान्त लिजमा, विचार त डिस्काउन्टमै पाइन्छ । देह र आत्मा दुवै एउटै पसलमा राखेर विक्री हुन्छ । ‘देशभक्ति’ भाडामा, ‘जनता’ त फोकटमा । के बाँकी रह्यो र ? सायद अब नयाँ एप आउनेछ– लोकतन्त्र डट कम, जहाँ नारा अफरमा हुन्छ र समर्पणलाई स्वाइप गरिन्छ ।
छर्लंग छ लोकतन्त्र अब भोटको होइन, नोटको तन्त्र बनिसक्यो । पहिलेका नेताहरू जनतालाई भगवान् भन्थे, अहिलेका नेताहरू त सबैलाई भक्त ठान्छन् । नेताहरू भोट माग्न आउँछन्– मास्क होइन, मेसेज लिएर । मेसेज भनेको त्यो चिप्लो कुरा हो, जसले कानमा थापेपछि कुनै पनि असम्भव कुरा पत्याउने बनाउँछ । लाज भनेको चेकजस्तै हो– पक्का बाउन्स हुन्छ । लाजलाई शायद अब करयोग्य सम्पत्ति घोषित गरिन बेर छैन, अनि राजस्व बढाउनैपर्ने बाध्यतामा पुगेका करका हाकिमहरूले अब लाज विवरण फारम भराउन थाल्ने दिन धेर छैन ।
अन्त्यमा भन्नैपर्छ– यो देशमा अहिले लड्डुतन्त्र सक्रिय रूपमा कार्यान्वयनमा छ । मन्त्रीहरूले टीका लगाएर नियुक्ति दिन्छन्, सचिवहरूले माला लगाएर कमिशन उठाउँछन्, व्यापारीहरूले हजुर हजुरको गजुर लगाएर बजेट सिँगार्न लगाउँछन्, अनि जनता ? जनताले त बजेट वक्तव्य सुनिसकेपछि स्याउको रेटमा गोलभेँडा किनेर घर फर्कन्छन् । त्यसैले यो तन्त्रको नाम लोकतन्त्रको सट्टा लड्डुतन्त्र भन्ने राखौं भन्ने यो पंक्तिकारको जोरदार माग रहेको छ ।