काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ १४ गते आइतवार बुक क्लोज गर्दैछ ।
यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
लाभांश पारितका लागि कम्पनीले माघ २५ गते काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्कवेटमा ३० औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६ दशमलव ३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्तिको बाँकी अवधिको लागि अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।