काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यस वर्षको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा करसमेत ८ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव फागुन २७ गते सम्पन्न ३१औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
पारित गरेको भोलिपल्ट अर्थात् फागुन २८ गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गर्न लागिएको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार रुपैयाँको आधारमा २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश कम रहेको छ । गत वर्ष कम्पनीले ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गर्ने भएकाले हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र अद्यावधिक गराउन आग्रह गरेको छ ।
फागुन १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म आफ्नो शेयर धितोमा राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा भने नो अब्जेक्सन लेटर अथवा उल्लेखित मितिपछि कर्जा चुक्ता भएका शेयरधनीहरूले भने नगद लाभांश फुकुवा गरिदिने पत्र पेश गरेपछि मात्र नगद लाभांश प्राप्त गर्नेछन् ।
कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।