काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर मंगलवार (आज)बाट विक्रीमा आएको छ । स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । इच्छुक खरीदकर्ताले चैत २० गतेसम्म उक्त शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
यो शेयरको मूल्य प्रतिकित्ता १७५ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन दिँदा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यी शेयर खरीदका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय, थापाथली, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ । यी शेयर यसअघि कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी भएको थियो । उक्त समयमा शेयर विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।