काठमाडौं। विश्वका उत्कृष्ट उत्पादन बजारमा उपलब्ध गराउने प्रतिबद्धताका साथ मोटरसाइकल र स्कूटर निर्माता हिरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ ।
हिरोले एक्स्ट्रिम रेन्जमार्फत नेपालका आधुनिक राइडरको परिष्कृत माग तथा आवश्यकता पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पूरा गर्ने उद्देश्य लिएकोे बताइएको छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरोको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने कम्पनीको विश्वास छ । एक्स्ट्रिम १६० आर फोरभी (प्रो)को मूल्य रू. ३ लाख ८४ हजार ९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रू. २ लाख ८९ हजार ९०० र एबीएस भेरियन्टका लागि रू. ३ लाख ११ हजार ९०० तोकिएको बताइएको छ ।
सार्वजनिक यी दुवै मोडल नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र जुम ११० स्कूटरसँगै असेम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यी दुवै मोटरसाइकल नेपालको परिवर्तनशील बजार आवश्यकतासँग पूर्ण रूपमा मेल खाने बताए । ‘कम्पनीको विश्वास र नवप्रवर्तनको इतिहास तथा नेपालको भौगोलिक र उपभोक्तालाई प्राथमिकतामा राख्दै सीजी मोटर्सको अनुभवले यी मोटरसाइकलमार्फत दुईपांग्रे सवारीसाधनको क्षेत्रमा नयाँ स्तर स्थापित गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।