काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज (आइतवार) जिल्ला अदालत कास्कीमा ३ ओटा कसूरमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरेको हो ।
अभियोगपत्रमा लामिछानेसँगै ४४ वटा व्यक्ति र कम्पनीलाई विपक्षी बनाइएको छ। जसमा लामिछानेसहित ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ, जसमा छविराज जोशी, लीला पछाई र रामबहादुर खनालसमेत छन् । यस्तै, लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दायर गरिएको छ ।
सरकारी समाचार संस्था राससमा लामिछानेसहित रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेले बताएको उल्लेख छ ।
लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय र जोशीविरुद्ध रु ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबीसहित मुद्दा दायर गरिएको शर्माले बताएको राससमा उल्लेख छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा र ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको राससमा उल्लेख छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार विभिन्न ८ ओटा कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, ५ जनाको सम्पत्ति जफतको माग गरिएको छ ।
उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ०३ पैसा बिगो असुल्न माग गरिएको छ ।