बाजुरा। जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको ५.२ रेक्टर स्केलको भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । उक्त विवरण अनुसार ८ घरमा पूर्ण र केहीमा आंशिक क्षति भएको छ ।
मानवीय क्षेति नभएको भएतापनि भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा एक सय २३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । ९ ओटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सकंलन गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
प्रहरी कार्यालय बाजुराका अनुसार बूढीनन्दा नगरपालिका–२ मा स्थानीय कल्पना बुढाको दुई तले घर, वडा नं ४ मा स्थानीय जनक बोहरा, वडा नं ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ । यस्तै सोही नागरपालिका–३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । सोही ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका–१ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताए ।
यहाँका अन्य पालिकामा भएको क्षतिको विवरण स्थानीय प्रहरी चौकीमार्फत संकलन भइरहेको जनाइएको छ । प्रभावितहरूलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।