काठमाडौं । ‘पर्यटकीय राजधानी’ पोखरामा दोस्रो संस्करणको नेपाल–चीन मैत्रिपूर्ण ड्रागन बोट रेस आयोजना हुने भएको छ ।
नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह–आयोजनामा यही पुस १४ र १५ गते प्रतियोगिता आयोजना गरिन लागिएको हो ।
प्रतियोगितामा नेपालका ११, चीनका ८ र सिंगापुरको १ गरी २० ओटा समूहको सहभागिता रहने आइतवार (आज) काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइइको छ ।
प्रतियोगिता २०० मिटर र ५०० मिटर दूरीमा आयोजना गरिने छ । प्रतियोगिताका विजेता टोलीले पाँच हजार डलर र उपविजेताले दुई हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, तेस्रो हुनेले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सहभागी बाँकी टोलीलाई जनही पाँच सय डलर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । यसअघि सन् २०२३ मा प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो ।