रोल्पा । रोल्पा नगरपालिकाले केही दिनअघि माडीचौरबाट ९८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि भैरहवा पठायो । तर ती व्यक्तिको रिपोर्ट कहिले आउँछ, कुनै टुंगो छैन । जिल्लामा पीसीआर ल्याब सेवा नहुँदा कोरोना परीक्षणका लागि नमूना दाङ र भैरहवा पठाउनुपर्ने बाध्यता छ । त्यहाँ पनि पालो कुर्नुपर्ने भएकाले एक हप्तामा पनि रिपोर्ट नआउने समस्या रहेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए ।
‘एक हप्तामा रिपोर्ट आउँछ,’ केसीले भने, ‘त्यही पनि थोरै–थोरै संख्याबाट मात्र आउने गरेको छ ।’ नमूना स्वाब संकलन गरिएका व्यक्तिबाट समुदायमा थप संक्रमण फैलन नदिन नगरपालिकाले माडीचौर क्षेत्रको ७ नम्बर वडा जेठ १० देखि १६ गतेसम्मका लागि सिल गरेको छ ।
जिल्ला बाहिर पठाइएका नमूना स्वाबको रिपोर्ट हप्तौंसम्म पनि नआउँदा आशंका गरिएका व्यक्तिबाट समुदायमा थप संक्रमण फैलिने खतरा रहँदै आएको छ । जिल्लामा पीसीआर परीक्षण सेवा नभएकाले बढीभन्दा एन्टिजेन विधिलाई प्राथमिकता दिइएको रोल्पा अस्पतालका प्रमुख डा. प्रकाश बुढाले बताए । जिल्लाका स्थानीय तहले एन्टिजेन किट खरीद गरिरहेकोमा केही मात्रामा उनीहरूले राखेर बाँकी रोल्पा अस्पताललाई दिए परीक्षणको दायरा बढ्नुका साथै संक्रमण नियन्त्रणमा पनि सहज हुने उनको भनाइ छ ।
जिल्लाका अधिकांश गाउँमा कोरोना संक्रमण फैलिँदै गएकाले पीसीआर सम्भव नभए एन्टिजेन विधिबाट भए पनि परीक्षणको दायरा बढाउनुपर्ने चिकित्सकहरूले सुझाएका छन् । थोरै मात्र परीक्षण हुँदा पनि रोल्पामा संक्रमितको संख्या ८ सय नाघेको छ ।