काठमाडौं। अटोमोबाइल कम्पनी हुन्डाई मोटर्सले १० करोड कार उत्पादनको यात्रा पूरा गरेको बताएको छ । सन् १९६७ मा कोरियाको उल्सान प्लाण्टबाट उत्पादन शुरू गरेको हुन्डाईले ५७ वर्षमा १० करोड कार उत्पादन गरेको हो । कम्पनीले १० करोड युनिटपश्चात् पहिलो कारको रूपमा आयोनिक ५ रोलआउट गरेको छ । हुन्डाईले उक्त कार प्लाण्टबाटै आयोनिक ग्राहकलाई हस्तान्तरण गरेको हो । कम्पनीले गएको ११ वर्षमै ५ करोड कार उत्पादन गरेको बताएको छ । कम्पनीले स्थापनादेखि सन् २०१३ सम्मका ४६ वर्षमा ५ करोड कार उत्पादन गरेको थियो ।
कम्पनीले कोरिया बाहेक टर्की, चेक रिपब्लिक, भारत, अमेरिका लगायन ८ देशमा ११ ओटा उत्पादन प्लाण्टमार्फत कार उत्पादन गर्दै आएको छ । यी प्लाण्टको कुल वार्षिक क्षमता ५० लाख युनिट रहेको छ । हुन्डाई मोटर्सले अहिले पेट्रोल, डिजल, हाइब्रिड, हाइड्रोजन फ्युलसेल गरी सबै प्रकारको पावरट्रेनमा भेहिकल उत्पादन गर्दै आएको छ ।