काठमाडौं। लक्ष्मी ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले मातहतका विभिन्न संस्थामार्फत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)का कार्यक्रम गर्दै शुक्रवार वार्षिकोत्सव मनाएको हो । ग्रुपअन्तर्गतका कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० जना बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री प्रदान गरेको बताइएको छ । सो अवसरमा ग्रुपले रक्तदान कार्यक्रम समेत गरेको छ, जसमा १०० भन्दा बढी कर्मचारी सहभागी भएका थिए ।
ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन गरेको छ । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रूपमा व्यवसाय शुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको विक्रीवितरण, होम एप्लाएन्सेसलगायत अन्य उत्पादन र सेवा उपलब्ध गराउन सक्रिय छ ।