काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे ‘ई–सेवा’ मा खाता खोल्नेको संख्या २० लाख नाघेको छ । पछिल्ला दिनमा नेपालीहरू विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाइल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि ई–सेवामा खाता खोल्नेको संख्या बढ्दै गएको हो । साथै, ई–सेवाले पछिल्लो समय शुरू गरेको ‘रिफर एन्ड अर्न’ अफरका कारण पनि यसमा खाता खोल्नेको संख्या बढेको हो । २५ जनवरी २००९ देखि सेवा शुरू गरेको ई–सेवाको मोबाइल एप्स डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि करीब १३ लाख पुगिसकेको छ । त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाइल बैंकिङमार्पmत करीब १ करोडले ई–सेवाका सेवा लिइरहेका छन् ।
हाल ई–सेवाका देशभर करीब ५५ हजार एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) छन् । त्यसैगरी ई–सेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । पछिल्लो समय विभिन्न रेस्टुराँ, होटल, किराना पसलदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म ई–सेवाको ‘क्युआर कोड’मार्फत रकम भुक्तानी गर्न सकिने भएपछि मर्चेन्टको संख्या बढेको हो । पान पसलदेखि ठूला डिपार्टमेन्टल स्टोरसम्म क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सुविधालाई ई–सेवाले आक्रामक रूपमा बढाउँदै लगेको छ ।
‘हामीले डिजिटल ट्वान्टी–ट्वान्टी भन्ने महत्त्वाकांक्षी योजना अगाडि सारिरहेका अवस्थामा ई–सेवामा मात्र खाता खोल्नेको संख्या २० लाख पुग्नुले अत्यन्त खुसी तुल्याएको छ । यसबाट हामी क्यासलेस सेसाइटी निर्माणको बाटोमा नजिक–नजिक पुगिरहेका छौं भन्ने थप पुष्टि भएको छ,’ ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले भने ।
ई–सेवा मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने ई–सेवाले एक दशकको अवधिमा ठूलो फड्को मारेको छ भने आम मानिसलाई लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने झञ्जटबाट मुक्ति दिएको छ ।
ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कूल–कलेजको शुल्क लगायत सेवाको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।