काठमाडौं । इजरायलले आफ्नो संगठनमाथि लक्षित गर्दै आक्रमण थालेपछि आतंकवादी संगठन हिजबुल्लाहले जवाफी हमला गरेको छ ।
हिजबुल्लाहको आक्रमणबाट दक्षिणी लेबनानमा आफ्ना आठ सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । हिजबुल्लाहले स्थलगत आक्रमण शुरु गरेयता यो पहिलो ठूलो आक्रमण हो ।
इरानसमर्थित हिजबुल्लाहले युद्धका क्रममा इजरायली ट्यांकहरू नष्ट गरेको समाचार संस्था बीबीसीले जनाएको छ ।
इजरायलले दुई साताअघिदेखि हिजबुल्लाहमाथि निरन्तर आक्रमण गरिरहेको छ । यो महीनाको पहिलो साता हिजबुल्लाहमाथि उपकरणमार्फत आक्रमण गरेको इजरायलले हवाई हमला पनि गर्दै आएको छ । उसले अघिल्लो मंगलवार (असोज १ गते) पेजर र त्यसको भोलिपल्ट वाकिटकी बिस्फोट गराएर हिजबुल्लाहमाथि आक्रमण गरेको उक्त संगठनका सदस्यको दाबी छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा इजरायली आक्रमणमा परी ४६ जनाको मृत्यु र ८५ जना घाइते भएको जनाएको छ । यसमा आमसर्वसाधारण र हिजबुल्लाहका लडाकुहरू सामेल छन् ।
लेबनानका अधिकारीहरूले इजरायलको आक्रमणबाट देशमा १ हजार २०० भन्दाबढी व्यक्तिको ज्यान गएको र करीब १२ लाख विस्थापित भएको बताएका छन् । उक्त आक्रमणबाट हिजबुल्लाह कमजोर भएको उनीहरूको भनाइ छ ।
इजरायल र हिज्बुल्लाहबीचको दोहोरो आक्रमणले युद्ध चर्किने भन्दै विश्व समुदायमा चिन्ता बढेको छ । एजेन्सीको सहयोगमा