काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबार एक सूचना जारी गर्दै इन्भेष्टमेन्ट कम्पनीहरूलाई बोर्डमा सूचिकृत हुन अनुरोध गरेको छ । यसअघि सरकारले ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी वा दश करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीहरूको नियमनकारी निकाय धितोपत्र बोर्डलाई तोक्ने निर्णय गरेको थियो । सोही अनुसार बोर्डले सूचिकृत हुन आउने आशयको सूचना निकालेको हो ।
यस्ता इन्भेष्टमेन्ट कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०५१ को नियम २० को व्यवस्था बमोजिम बोर्डमा सहित सूचिकृत हुन सूचनामा भनिएको छ।
'नेपाल राजपत्रमा मिति २०८१ / ०९ / १८ ( संख्या ४५) भाग ५ मा प्रकाशित नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना १ बमोजिम नेपाल सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ न. को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा पाँच करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी वा दश करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीको हकमा बोर्डलाई नियमनकारी निकाय तोक्ने निर्णय भएको सन्दर्भमा उक्त इन्भेष्टमेन्ट कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०५१ को नियम २० को व्यवस्था बमोजिम बोर्डमा निम्न बमोजिमका विवरण तथा कागजात सहित सूचिकृत हुन सूचित गरिन्छ,' बोर्डको सूचनामा भनिएको छ ।
बोर्डमा सूचिकृत हुनका लागि निवेदन पत्र, कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा, नियमावली, कम्पनी अद्यावधिक दर्ता प्रमाण पत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाण पत्र, सञ्चालक समितिको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर तथा शेयरधनीको लगत ) , कार्यकारी प्रमुखको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर), कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचिकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचिकृत हुने सम्बन्धमा दिएको अख्तियारी, कम्पनीको वार्षिक कारोबार समेत खुल्ने लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन, कम्पनीको चुक्ता पुँजी खुल्ने कागजात तथा विवरण सहित उपस्थित हुन सूचनामा भनिएको छ ।