काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडको अगुवाईमा अन्य बैंक तथा वित्तीय संस्थाहरू र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. बीच १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणका लागि लगानी सम्झौता सम्पन्न भएको छ। यस आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ।
यो आयोजनामा लक्ष्मी सन्राइज बैंकले प्रोजेक्ट फाइनान्स (टर्म लोन) मा ९ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता जनाएको छ । यसका सह-लगानीकर्ता बैंकहरूमा ग्लोबल आइएमई बैंक (७ अर्ब १२ करोड ६० लाख), सिद्धार्थ बैंक (५ अर्ब), हिमालयन बैंक (३ अर्ब), नेपाल एस.बि.आई. बैंक (३ अर्ब) र एभरेष्ट बैंक (२ अर्ब ५० करोड) गरि कुल २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँको सहवित्तीयकरण गरिनेछ। परियोजनाको ७५ प्रतिशत लगानी बैंकहरूले र २५ प्रतिशत कम्पनीका संस्थापक र सर्वसाधारणले जुटाउने छन् ।
मुस्ताङ्ग र म्याग्दी जिल्लाको कालीगण्डकी नदीमा निर्माण हुने यस आयोजनाले नेपालको नवीकरणीय उर्जा क्षेत्रमा ठूलो योगदान पुर्याउने अपेक्षा छ। आयोजनाको विद्युत उत्पादन अनुमति विद्युत विकास विभागबाट २०७५ फागुण २७ मा प्राप्त भइसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँग २०७९ फागुण १७ मा विद्युत खरिद-बिक्री सम्झौता पनि गरिसकेको छ।
कालीगण्डकी गर्ज आयोजना २०२९ साल भित्र पूरा गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। परियोजनाको मुख्य प्रवर्द्धकमा संघई ग्रुप, विशाल ग्रुप र ज्ञानेन्द्र लाल प्रधान रहेका छन्। यस सहकार्यले देशको आर्थिक विकासमा गतिशीलता ल्याउनुका साथै ऊर्जा क्षेत्रमा विदेशी लगानीको लागि पनि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।