काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले चैत १९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । फागुन २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित द फ्लामिङ्गो होटल रुपन्देहीमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्दै त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब २७ करोड रुपैयाँको आधारमा १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको मातहतमा १ अर्ब ५० करोड चुक्तापूँजी रहने गरी लगानी मुकल कम्पनी स्थापना गर्ने सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ ।
कम्पनीले प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडसहित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड, प्रभु होल्डिङ्गस एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी र हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेण्ट कम्पनी लिमिटेडसँग गरेको सम्झौतालाई कम्पनीको नियमावलीको नियम ५० मा समावेश गरी कार्यान्वयन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
उल्लेखित प्रस्तावसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ । चैत १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।