काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ८०० विन्दु छोएर फर्किएको छ । अघिल्ला दुई कारोबार दिन बढेको नेप्से यस दिन सामान्य करेक्सन भएको छ । नेप्से परिसूचक ५ दशलमव २९ अंक घटेर २ हजार ७५५ दशमलव ६२ विन्दुमा कायम भएको हो । नेप्से परिसूचक इन्ट्राडेमा २ हजार ८०५ दशमलव ५७ विन्दुसम्म पुगेको थियो ।
बिहीवारकै बजारलाई हेर्दा पनि शेयर बजारले नयाँ–नयाँ उचाइ तय गर्ने क्रम जारी राखेको देखिन्छ । बुधवार अहिलेसम्मकै उच्च कारोबारको रेकर्ड कायम गरेको नेप्सेले आज फेरि इन्ट्राडेमा २ हजार ८ सयको मनोवैज्ञानिक विन्दु पार गर्यो ।
बजार बढ्दै जाँदा आम लगानीकर्ताको मनोबल पनि वृद्धि हुँदै गएको देखिन्छ । यसअघि ब्याजदर घटेको महीनौंसम्म पनि बजारमा कुनै प्रभाव पार्न सकेको थिएन । वित्तीय प्रणालीमा तरलता प्रशस्त भएता पनि नेप्से अघि बढ्नै सकेको थिएन । किनभने लगानीकर्ताको मनोबल उच्च हुनै सकेको थिएन ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा हटाएको छ । यसकारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८९ प्रतिशत घटेको छ ।
३३२ धितोपत्रको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर २ लाख २९ हजार ८१३ पटकमा रू. २१ अर्ब ७१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी, नेपाल हाइड्रो डेभलोपर, शुभम् पावर, सिटी होटल र कुथेली बुखरी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो ।
बिहीवार सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव १३ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४३१ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा रहेको १० प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८४ नामक ऋणपत्रको मूल्य ८ दशमलव ६५ प्रतिशत घटेर रू. १ हजार २५ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ५९ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७७० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट छ । कम्पनीको रू. ४३ करोड ८१ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये ६ समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । तीमध्ये जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ६९ प्रतिशत वृद्धि भएको छ । त्यस्तै व्यापार समूहको सूचक सबैभन्दा बढी ३ दशलमव ५४ प्रतिशत घटेको छ ।