- जेन–जी (जेनेरेशन जेड)) पुस्तामा सन् १९९७ देखि २०१२ सम्म जन्मेका व्यक्तिहरू पर्छन् जसलाई ‘डिजिटल नेटिभ्स’ पनि भनिन्छ ।
- पोडकास्टप्रतिको आकर्षणले अनुभवमा आधारित सिकाइलाई प्राथमिकता दिन्छ जबकि गेमिङलाई उनीहरू सामाजिक र शैक्षिक गतिविधिका रूपमा प्रयोग गर्छन् ।
- जेन–जी पुस्तालाई ‘काम खोज्ने’ भन्दा ‘काम दिने’ बनाउनका लागि एकीकृत र बहुआयामिक रणनीति आवश्यक पर्छ ।
- श्रम कानूनमा लचिलोपन ल्याउनु जरुरी छ ताकि फ्रिल्यान्सिङ, साइड गिग्स र गिग इकोनोमी प्रवृत्तिलाई बढावा मिल्न सकोस् ।
नेपालको आर्थिक क्षितिजमा नयाँ ऊर्जा भर्ने लक्ष्यका साथ प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को बजेटले युवा पुस्तालाई हेर्ने दृष्टिकोणमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ । परम्परागत रूपमा रोजगारीको खोजीमा भौंतारिने युवाहरूको जमातबाट माथि उठेर यो बजेटले जेन–जी पुस्ता (जेनेरेशन जेड) लाई ‘काम खोज्ने होइन, काम दिने’ सामर्थ्यवान् उद्यमीका रूपमा स्थापित गर्ने महत्त्वाकांक्षी भिजन बोकेको छ । स्मार्टफोन र इन्टरनेटको युगमा हुर्केका, प्रविधिमैत्री र नवप्रवर्तनमा रूचि राख्ने जेन–जीलाई लक्षित गरी ल्याइएका विशेष कार्यक्रम र सहुलियतहरूले अबका दिनमा नेपालको आर्थिक विकासको नेतृत्व युवा आफैले गर्ने नयाँ युगको संकेत दिएका छन् । यो बजेट केवल वित्तीय विनियोजन मात्र नभई देशको भविष्य निर्माणमा युवा शक्तिलाई सक्रिय साझेदार बनाउने दूरदृष्टिको प्रतिविम्ब हो ।
जेन–जीः वर्तमान र भविष्यको पुस्ता
जेन–जी (जेनेरेशन जेड) पुस्तामा सन् १९९७ देखि २०१२ सम्म जन्मेका व्यक्तिहरू पर्छन् जसलाई ‘डिजिटल नेटिभ्स’ पनि भनिन्छ किनभने उनीहरू प्रविधि र इन्टरनेटको प्रभावमा हुर्केका हुन् । स्मार्टफोन, सामाजिक सञ्जाल र डिजिटल प्रविधिहरूको पहुँचले उनीहरूको बाल्यकालदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको छ । दोस्रो विश्वयुद्धपछिको चौथो पुस्ताको रूपमा चिनिने जेन–जीलाई पुरानो पुस्ताभन्दा बढी व्यावहारिक र उन्नत सोच भएको मानिन्छ, जो नयाँ कुराहरू अपनाउन हिचकिचाउँदैनन् । जेड पुस्ता जन्म वर्ष १९९७–२०१२ भित्र जन्मिएका हाल १२ देखि २७ वर्ष उमेरसमूहका यो पुस्ताका पछिल्लो लहरमा भर्खर कक्षा १२ को परीक्षा दिएका विद्यार्थी पर्छन् । सन् २०१३ देखि अहिलेसम्मका नवजात शिशुहरू भने अल्फा पुस्ताका रूपमा चिनिन्छन् । हालको जेन–जी पुस्तालाई स्मार्ट मानिन्छ र भविष्यमा आउने अल्फा पुस्ता झन् ‘सुपर स्मार्ट’ हुने अपेक्षा गरिएको छ । यो पुस्ता आफ्नो योग्यता प्रमाणित गर्न उत्सुक छ र त्यसका लागि उचित समय र सही अवसरको खोजीमा छ । उनीहरू परम्परागत उत्पादन प्रणालीभन्दा यान्त्रिक, भर्चुअल र डिजिटल व्यवसायमा बढी आकर्षित छन् ।
जेन–जी पुस्ताका विशेषता
जेन–जी पुस्ता आफ्नो विशिष्ट जीवनशैली, प्रविधिप्रति आकर्षण र सामाजिक मूल्यहरूद्वारा अघिल्ला पुस्ताभन्दा फरक परिचय दिन्छन् । उनीहरूले काम र जीवनबीच सन्तुलन कायम गर्न स्वतन्त्रता र लचिलोपनलाई प्राथमिकता दिन्छन् जसअन्तर्गत ‘साइड गिग्स’ र फ्रिल्यान्सिङलाई महत्त्व दिने गर्छन् । मानसिक स्वास्थ्यप्रति उनीहरू सचेत छन् जसको प्रमाण २०२० यता चिन्ता र सामाजिक सञ्जालबाट हुने तनावको रिपोर्ट २५ प्रतिशतले बढेको हुनाले देखिन्छ । आर्थिक रूपमा सतर्क यो पुस्ता बचत र लगानीमा केन्द्रित छ जहाँ सेयर बजारमा सहभागिता बढ्दै गइरहेको छ । यात्रालाई उनीहरू विलासिता नभएर आवश्यकताका रूपमा हेर्छन् जसले गर्दा अन्तरराष्ट्रिय यात्राको योजना बढिरहेको छ । स्वास्थ्य र पोषणप्रति उनीहरूको दृष्टिकोण व्यावहारिक छ । फिटनेस सुधारलाई प्राथमिकता दिँदै अस्थायी ‘फ्याड डाइट’लाई उपेक्षा गर्छन् । पर्यावरणप्रति उनीहरूको चासो प्रणालीगत समाधानमा केन्द्रित छ जहाँ ब्रान्ड र सरकारलाई उत्तरदायी ठानिन्छ । विविधता, समानता र समावेशिताको व्याख्यामा उनीहरूले मानसिक स्वास्थ्य, भाषा र अपाङ्गतालाई समेट्छन् । सामाजिक सञ्जाल उनीहरूका लागि मात्र सामग्री खपतको माध्यम नभएर सामाजिक संयोजनको साधन हो जसले गर्दा टिकटक र इन्स्टाग्राममा सञ्चार बढेको छ । पोडकास्टप्रति उनीहरूको आकर्षणले अनुभवमा आधारित सिकाइलाई प्राथमिकता दिन्छ जबकि गेमिङलाई उनीहरू सामाजिक र शैक्षिक गतिविधिको रूपमा प्रयोग गर्छन् । कृत्रिम बुद्धिमत्ताप्रति उनीहरूको आशावादी दृष्टिकोण छ तर कम्पनीहरूबाट पारदर्शिताको अपेक्षा गर्छन् । यी सबै विशेषताहरूले जेन–जी पुस्तालाई प्रविधि, समाज र व्यक्तिगत मूल्यहरूको अन्तरक्रियामा अग्रगामी बनाउँछ ।
जेन–वाई र जेन–जी बीच फरक
जेन–वाई (मिलेनियल्स) र जेन–जीबीचको भिन्नता उनीहरू हुर्केको वातावरणमा स्पष्ट देखिन्छ । प्रविधिको कुरा गर्दा जेन–वाई ‘लो–टेक’ परिवेशमा हुर्किए भने जेन–जी ‘हाई–टेक’ वातावरणका उपज हुन् जसले उनीहरूको सोच्ने र व्यवहार गर्ने तरीकामा ठूलो प्रभाव पारेको छ । सामाजिक–राजनीतिक चेतनामा पनि भिन्नता छ । जेन–वाई राजनीतिक अधिकार, सामाजिक सुख–दुःख र अन्यायमा बढी चासो राख्थे तर जेन–जी भने राजनीतिप्रति उदासीन छन् र यसलाई फोहोरी खेल ठान्छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधानका अधिकारहरूबारे पनि कमै जानकारी राख्छन् । रुचि र रोजाइमा पनि दुई पुस्ताबीच आकाश–जमीनको फरक छ । गीत–संगीत, वेशभूषा, आइडल, फिल्म, कथा, पुस्तक, नेता र खानपिनलगायत हरेक क्षेत्रमा उनीहरूका प्राथमिकता फरक छन् जहाँ जेन–वाईलाई स्थानीय र परम्परागत कुरा मन पर्दा जेन–जीको रोजाइ फरक छ । यसैले, अन्तरपुस्तागत बुझाइमा जेन–वाईले जेन–जीलाई अव्यावहारिक र कच्चा ठान्छन् भने जेन–जीले जेन–वाईलाई पुरानो र पुरातन मान्छन् । काम खोज्ने होइन, काम दिने युवा विकासका लागि जेनजी विशेष कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा जेन–जी पुस्तालाई विशेष प्राथमिकता दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यस पुस्तालाई स्टार्टअप कार्यक्रमहरूका लागि प्राथमिकता दिने घोषणा गरेका छन् जसले उनीहरूलाई रोजगारी सृजना गर्न प्रोत्साहन गर्नेछ ।
सरकारले आगामी आव २०८२/८३ को बजेटमा जेन–जी पुस्तालाई विशेष सम्बोधन गर्दै रोजगारी सृजना गर्ने उद्यमी युवा उत्पादन गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा ‘काम खोज्ने होइन, काम दिने युवा विकासका लागि जेन–जी विशेष कार्यक्रम’अन्तर्गत स्टार्टअप उद्यमशीलता प्रवर्द्धनमा जोड दिइएको छ । यसका लागि सरकार, विश्वविद्यालय र निजीक्षेत्रको सहकार्यमा इन्कुवेसन सेन्टर निर्माण गरिनेछ । स्टार्टअप उद्यमीहरूलाई शीप विकास, व्यवसाय विस्तार र बजारीकरणमा सहयोग पुर्याउन ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ जसका लागि ७३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य जेन–जी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाएर आत्मनिर्भर बनाउनु हो ।
जेन–जी पुस्तालाई ‘काम खोज्ने’ भन्दा ‘काम दिने’ बनाउन एकीकृत र बहुआयामिक रणनीति आवश्यक पर्छ । यसमा केवल एउटा वा दुईवटा पहलले मात्र पुग्दैन बरु शिक्षाप्रणालीदेखि वित्तीय पहुँचसम्मका धेरै क्षेत्रमा एकसाथ काम गर्नुपर्छ ।
उद्यमशीलता र नवप्रवर्तनका लागि सचेतना र प्रोत्साहन
उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सचेतनाका विभिन्न उपाय अपनाउन आवश्यक छ । विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरूमा उद्यमशीलता, वित्तीय साक्षरता र नवप्रवर्तनसम्बन्धी विषयहरू समावेश गरी शैक्षिक स्तरबाट नै यसको बीजारोपण गर्नुपर्छ जसका लागि वास्तविक जीवनका सफल उद्यमीहरूको अनुभव साटासाट गर्ने कार्यक्रमहरू आयोजना गर्नुपर्छ । सरकार, विश्वविद्यालय र निजीक्षेत्रको सहकार्यमा इन्कुवेशन सेन्टरहरू र एक्सिलरेटरहरू स्थापना गरी युवा उद्यमीहरूलाई मेन्टरसिप, तालिम, नेटवर्किङ र भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्छ जुन अर्थमन्त्रीले बजेटमा पनि उल्लेख गरेका छन् । यसका साथै नवप्रवर्तन र स्टार्टअप विचारहरूलाई प्रोत्साहित गर्न राष्ट्रिय तथा प्रादेशिक स्तरमा ‘ह्याकाथन’, ‘पिच डे’ र ‘स्टार्टअप च्यालेन्ज’ जस्ता प्रतियोगिता आयोजना गरी उत्कृष्ट विचारहरूलाई वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ । यी सबै उपायले उद्यमशीलतालाई प्रवर्द्धन गर्ने र नवप्रवर्तनको संस्कृतिलाई बढावा दिनेछ ।
वित्तीय पहुँच र प्रोत्साहन
वित्तीय पहुँच र प्रोत्साहनका माध्यमबाट जेन–जी उद्यमीहरूलाई सशक्त बनाउन विभिन्न उपाय आवश्यक छन् । सरकारले ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गरी युवा उद्यमीहरूसम्म पुग्न डिजिटल र पारदर्शी प्रक्रिया अपनाउनुपर्छ जसले गर्दा कागजातहरू सजिलै पेश गर्न सकिनेछ । नवप्रवर्तनशील स्टार्टअपहरूको विकासका लागि बीउ पूँजी र भेन्चर क्यापिटलको विस्तार गर्नुपर्छ जसमा निजी लगानीकर्ताहरूलाई कर छूटजस्ता प्रोत्साहनहरू दिई आकर्षित गर्न सकिन्छ । यसका साथै, सरकारी ग्यारेन्टी फन्डको व्यवस्था गरेर युवाहरूलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सहज बनाउनुपर्छ । साथै, शुरुआती चरणका स्टार्टअपहरूलाई निश्चित अवधिका लागि कर छूट र अन्य सरकारी शुल्कमा सहुलियत प्रदान गरी उनीहरूको वित्तीय बोझ घटाउनुपर्छ । यी उपायहरूले जेन–जी उद्यमीहरूको वित्तीय पहुँच सुधारेर नवप्रवर्तन र आर्थिक वृद्धिमा योगदान पुर्याउनेछ ।
शीप विकास र तालिम
जेन–जी युवाहरूको शीप विकास र तालिमका लागि बजारमा हुने भविष्यको मागलाई ध्यानमा राखेर रणनीतिक कार्यक्रमहरू आवश्यक पर्छन् । भर्चुअल प्रविधि, डिजिटल क्षेत्र, एआई, डेटा साइन्स, सफ्टवेयर विकास, डिजिटल मार्केटिङ र ई–कमर्सजस्ता उदीयमान प्रविधिहरूमा विशेषीकृत तालिम कार्यक्रमहरू विकास गर्नुपर्छ जसले युवाहरूलाई रोजगारी र उद्यमशीलताका लागि तयार पार्नेछ । स्टार्टअपहरूको सफलताका लागि व्यावहारिक शीपहरू जस्तै उत्पादन विकास, गुणस्तर नियन्त्रण, ब्रान्डिङ, डिजिटल मार्केटिङ र निर्यात प्रक्रियासम्बन्धी विशेष तालिमहरू आयोजना गरिनुपर्छ । शैक्षिक प्रणालीमा सैद्धान्तिक ज्ञानभन्दा प्रोजेक्ट–आधारित शिक्षणलाई प्राथमिकता दिई विद्यार्थीहरूलाई वास्तविक जीवनका समस्याहरू समाधान गर्ने अवसर प्रदान गर्नुपर्छ जसले गर्दा उनीहरूले समस्यामूलक चिन्तन र रचनात्मकताका साथै टिम वर्कजस्ता आवश्यक शीपहरू सिक्न सकून् । यी सम्पूर्ण प्रयासहरूले जेन–जी युवाहरूलाई नवीनतम प्रविधिको ज्ञान, व्यावहारिक अनुभव र उद्यमशील योग्यतासँग सजिलै रोजगारी सृजना गर्न वा आफ्नै व्यवसाय शुरू गर्न सक्षम बनाउनेछ ।
नीतिगत र कानूनी सहजीकरण
नीतिगत र कानूनी सहजीकरण जेन–जी युवाहरूको उद्यमशीलतालाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्छ । स्टार्टअपहरूको दर्ता प्रक्रियालाई सरल, छिटो र पूर्णरूपमा डिजिटल बनाउनु आवश्यक छ जसका लागि एकद्वार प्रणालीको विकास गर्नुपर्छ । यसले नयाँ व्यवसाय शुरू गर्ने प्रक्रियालाई पारदर्शी र कम समयमा पूरा गर्न मद्दत गर्छ । नवप्रवर्तनलाई संरक्षण दिन बौद्धिक सम्पत्ति अधिकारको सुरक्षा बढाउनुपर्छ विशेष गरी स्टार्टअप र युवा आविष्कारकहरूले आफ्नो नवीन विचार र प्रविधिको लाभ उठाउन सकून् ।
यसका साथै, श्रम कानूनमा लचिलोपन ल्याउनु जरुरी छ ताकि फ्रिल्यान्सिङ, साइड गिग्स र गिग इकोनोमी प्रवृत्तिलाई बढावा मिल्न सकोस् । यसले युवाहरूलाई आफ्नो क्षमताअनुसार धेरै आय स्रोत सृजना गर्न र अनलाइन प्लेटफर्ममार्फत काम गर्न सहज बनाउँछ । डिजिटल पूर्वाधार जस्तै उच्च गतिको इन्टरनेट, डिजिटल भुक्तानी प्रणाली, र क्लाउड कम्प्युटिङजस्ता सेवाहरूको विस्तार गर्नुपर्छ जसले गर्दा जेन–जी उद्यमीहरूले डिजिटल माध्यमबाट व्यवसाय सञ्चालन गर्न सहज रूपले पाउनेछन् । यी सम्पूर्ण उपायहरूले नयाँ उद्यमहरूको शुरुआत र विकासलाई गतिशील बनाउनेछ ।
मानसिक स्वास्थ्य र सामाजिक सहयोग
जेन–जी युवाहरूको मानसिक स्वास्थ्य र सामाजिक सहयोगलाई प्रवर्द्धन गर्न एकीकृत उपायहरू आवश्यक छन् । मानसिक स्वास्थ्य सहयोगका लागि इन्कुवेशन सेन्टर र शैक्षिक संस्थाहरूमा निःशुल्क परामर्श सेवा, टेलिथेरापी र सातै दिन चौबीसै घण्टा सञ्चालन हुने क्राइसिस हटलाइनजस्ता सेवाहरू स्थापना गर्नुपर्छ जसले गर्दा चिन्ता, डिप्रेशनजस्ता समस्याहरूको समयमै निदान र उपचार हुन सक्छ । सामाजिक सञ्जालको सकारात्मक उपयोगलाई बढावा दिन डिजिटल साक्षरता तालिमहरू आयोजना गरी यसलाई नेटवर्किङ, फ्रिलान्सिङ र व्यावसायिक प्रवर्द्धनका लागि प्रयोग गर्ने तरिका सिकाउनुपर्छ । साथै मानसिक स्वास्थ्य जागरुकता फैलाउन सकारात्मक सामग्री निर्माण गर्न प्रोत्साहन गर्नुपर्छ । परिवार र समुदायको सहभागिता महŒवपूर्ण छ जसमा परिवारले युवाहरूलाई भावनात्मक सहयोग प्रदान गर्ने, उद्यमशीलतालाई सम्मानित पेशाको रूपमा हेर्ने र स्थानीय स्तरमा मेन्टरशिप कार्यक्रमहरू सञ्चालन गर्ने जस्ता उपायहरू समावेश छन् । यी सम्पूर्ण प्रयासहरूले जेन–जी युवाको मानसिक स्वास्थ्य सुधार, सामाजिक संयोजन र आर्थिक सशक्तीकरणमा योगदान पुर्याउनेछ ।
अन्तरराष्ट्रिय सहकार्य र अवसर
जेन–जी पुस्तालाई ‘काम खोज्ने’ भन्दा ‘काम दिने’ युवा शक्तिमा रूपान्तरण गर्न अन्तरराष्ट्रिय सहकार्य र अवसरको सदुपयोग अपरिहार्य छ । यसका लागि नेपाली जेन–जी उद्यमीहरूलाई अन्तरराष्ट्रिय स्टार्टअप इकोसिस्टमसँग जोड्नुपर्छ जसमा ‘इन्टरनेशनल पिच कम्पिटिशन’ र ‘स्टडी टुर’ जस्ता कार्यक्रमहरूमा सहभागी गराउनु महत्त्वपूर्ण हुन्छ । साथै, विदेशबाट आर्जित रेमिट्यान्सको उत्पादनशील उपयोगका लागि नेपालमा स्टार्टअपहरूमा लगानी गर्न प्रोत्साहन गर्ने नीतिहरू ल्याउनु आवश्यक छ । यी रणनीतिहरूलाई एकीकृत रूपमा कार्यान्वयन गर्न सकेमा यस पुस्ताले नेपालको आर्थिक विकासमा महŒवपूर्ण योगदान पुर्याउन सक्छ ।
अन्त्यमा, नेपालको आगामी आव २०८२/८३ को बजेटले जेन–जी पुस्तालाई ‘काम खोज्ने होइन, काम दिने’ सशक्त युवा शक्तिका रूपमा विकास गर्ने दूरगामी सोच प्रस्तुत गरेको छ । यो बजेटले स्टार्टअप उद्योगका लागि ३ प्रतिशत ब्याजदरमा कर्जा, इन्कुवेशन सेन्टरको स्थापना र अन्य सहुलियतपूर्ण कार्यक्रमहरूमार्फत जेन–जीको उद्यमशीलता र नवप्रवर्तनलाई प्रत्यक्ष सम्बोधन गरेको छ । प्रविधिमैत्री र व्यावहारिक सोच राख्ने यो पुस्ताको ऊर्जालाई सही दिशा दिन सकेमा यसले युवा पलायनलाई न्यूनीकरण गर्दै देशको आर्थिक विकासमा ठूलो टेवा पुर्याउनेछ । यद्यपि यो भिजनलाई यथार्थमा बदल्न बजेटमा उल्लिखित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, नीतिगत सरलीकरण र युवामैत्री वातावरण निर्माण अपरिहार्य छ । जेन–जीको मानसिक स्वास्थ्य, शीप विकास र अन्तरराष्ट्रिय अवसरमा ध्यान दिँदै उनीहरूलाई देशमै भविष्य देख्ने आत्मविश्वास जगाउन सकेमात्र यो बजेटले परिकल्पना गरेको ‘काम दिने’ पुस्ताको सपना साकार हुनेछ ।
लेखक आन्तरिक राजस्व विभाग लाजिम्पाटका कार्यरत छन् ।