विराटनगर। जीवन विकास लघुवित्त वित्तीय संस्थाले ‘थ्री जिरो क्लब’ प्रवर्द्धन गरेबापत अन्तरराष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थामध्ये जीवन विकासले अन्तरराष्ट्रिय ‘क्लब सपोर्ट अवार्ड’प्राप्त गरेको हो । यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले उक्त अवार्ड प्राप्त गरेको थियो । शून्य गरीबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले थ्री जिरो क्लबको (तीन शून्य क्लब) अवधारणा अघि सारेका थिए ।
बंगलादेशबाट शुरू भएको थ्री जिरो क्लब सञ्जाल ५६ देशमा फैलिएको छ । विश्वभर थ्री जिरो क्लबको संख्या ३ हजार ८०० भन्दा बढी रहेको बताइएको छ । तीमध्ये सबैभन्दा धेरै नेपालमा २ हजार ५०० थ्री जिरो क्लब छन् । थ्री जिरो क्लब कन्भेन्सनमा प्रवद्र्धक मोहम्मद युनुसले संस्थाका सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल र नायब प्रमुख कार्यकारी अधिकृत दामोदार रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए । पुरस्कार ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत मण्डलले अन्तरराष्ट्रिय मञ्चमा जीवन विकासले प्राप्त गरेको पुरस्कार नेपालका लागि गौरवको विषय भएको बताए । थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवा सहभागी हुन पाउँछन् ।