जनकपुरधाम । जलेश्वर भन्सार कार्यालय, भिठ्ठामोडले चालू आर्थिक वर्ष २०८१/८२ को फागुन २१ गतेसम्ममा रू. २ अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ४७ दशमलव ५१ प्रतिशत हो । चालू आर्थिक वर्षमा कार्यालयले रू. ४ अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व असुलीको लक्ष्य पाएको सूचना अधिकारी रामकुमार विकले दिए ।
मासिक राजस्व लक्ष्य र प्राप्ति हेर्दा कार्यालयले साउनमा लक्ष्यको ९२ दशमलव १६ प्रतिशत, भदौमा ८३ दशमलव ८७ प्रतिशत, असोजमा ८७ दशमलव ५४ प्रतिशत, कात्तिकमा ७४ दशमलव शून्य २ प्रतिशत, मङ्सिरमा ८३ दशमलव ३६ प्रतिशत, पुसमा ७५ दशमलव १४ प्रतिशत, माघमा ७४ दशमलव ७५ प्रतिशत र फागुन २१ गतेसम्ममा ८३ दशमलव ८९ प्रतिशत राजस्व संकलन गरेको छ ।
सूचना अधिकारी विकका अनुसार कार्यालयबाट आयात हुने सामग्रीमा पेट्रोलियम पदार्थको योगदान ४९ दशमलव १४ प्रतिशत रहेको छ । यस वर्ष भारतको विहार राज्यको मोतिहारी र अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टितेल समेत सञ्चालनमा आएकाले जलेश्वर भन्सारको राजस्वमा कमी आएको विकले बताए ।