जनकपुरधाम । गत आर्थिक वर्ष (आव) २०८०/८१ मा महोत्तरीको जलेश्वर क्वारेन्टाइन कार्यालयबाट रू. २ अर्ब ९९ करोड ७५ लाखको कृषिजन्य वस्तु आयात भएको छ । सो अवधिमा भारतबाट ७१ हजार ४ सय ८९ मेट्रिक टन कृषि वस्तु भित्रिएको कार्यालयको तथ्यांक छ ।
गत आवमा खाद्यान्न मात्रै ३४ हजार १ सय ९८ मेट्रिक टन आयात भएको छ । रू. १ अर्ब ५४ करोड ९८ लाख बराबरको उक्त परिमाणको खाद्यान्न भारतबाट आयात गरिएको क्वारेन्टाइन कार्यालयका निमित्त प्रमुख किशोरकुमार यादवले बताए । यसैगरी रू. १९ करोड ६३ लाख बराबरको १ हजार ४ सय ७३ मेट्रिक टन दलहन वस्तु आयात गरिएको जानकारी उनले दिए । सोही अवधिमा फलफूल रू. ४३ करोड २९ लाख बराबरको ६ हजार २ सय ७ मेट्रिक टन ताजा फलफूल भित्रिएको छ । यसैगरी रू. ७ करोड ६३ लाखको २ हजार ६ सय ५४ मेट्रिक टन तरकारी आयात भएको कार्यालयले जनाएको छ । सो अवधिमा रू. ५४ करोड ३२ लाख बराबरको २१ हजार ७ सय ३० मेट्रिक टन आलु आयात भएको निमित्त कार्यालय प्रमुख यादवको भनाइ छ । यस्तै रू. २० करोड ९० लाख बराबरको ५ हजार २ सय २५ मेट्रिक टन प्याज भित्रिएको छ ।