नेपालले आफूसँग भएको स्रोतको परिचालन गर्न सकिरहेको छैन । यहाँ जलविद्युत् विकासको प्रचुर सम्भावना छ । ऊर्जा नै औद्योगिक विकासको आधार हो । तर, अहिले माग र आपूर्तिबीच सन्तुलन छैन । यसले गर्दा औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने ऊर्जाको अभाव छ । यस्तो अवस्थामा दिगो आर्थिक वृद्धिको सम्भावना कम छ । त्यसैले आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने कुरा अहिलेका निम्ति सपना मात्र हुनेछ । जलविद्युत्को विकासले मुलुकको ऊर्जा आवश्यकता त पूरा गर्छ नै भारत र चीनजस्तो ठूलो बजारमा सहजै निर्यातसमेत गर्न सकिन्छ ।
नेपाल सरकार भारतलाई विद्युत् बेच्ने सैद्धान्तिक कुरा गरिरहेको छ तर आफ्नो आवश्यकतासमेत पूरा गर्न सकिरहेको छैन । ऊर्जाको विकासका लागि निजीक्षेत्रलाई आकर्षित गर्ने लचिलो नीति अपनाउनुपर्छ । यसका लागि उपयुक्त बैङ्क ब्याजदर निर्धारण हुन आवश्यक छ । आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउनका निम्ति जलविद्युत्को विकासलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । कृषि र औद्योगिक क्षेत्रको विकास पनि ऊर्जाको उपलब्धतामै निर्भर छ भन्न तथ्यलाई बिर्सन मिल्दैन । यी क्षेत्रको विकासविना ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने कुरा निकै कठिन हुन्छ । अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले भरथेग भइरहेको छ ।
(अर्थशास्त्री डा. प्रदीपकुमार खड्कासँगको कुराकानीबाट) वर्ष ८, अंक १४९, शुक्रवार, ४ फागुन, २०६९