राष्ट्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०६८ को तथ्यांक सार्वजनिक गर्दै विगत १० वर्षमा औसत १ दशमलव ३५ प्रतिशतले जनसंख्या वृद्धि भएको बताएको छ । अघिल्लो जनगणनाको तुलनामा जनसंख्या वृद्धिदर करीब १ प्रतिशत बिन्दुले घट्नु भनेको मुलुकले तीव्र जनसंख्या वृद्धि (आरपीजी)को समस्याबाट पार पाउन खोजेको समेत हो । त्यसैले अब मुलुकको ध्यान जनसंख्या नियन्त्रणमा भन्दा बढी गुणस्तरीय व्यवस्थापनतिर लाग्नु आवश्यक छ । मुलुकको जनघनत्व १ सय ८० प्रतिवर्गकिलोमिटर रहेको अवस्थामा अहिलेको जनसंख्यालाई धेरै पनि भन्न मिल्दैन । परिवारको आकार घटेको, शहरी जनसंख्या बढेको, बत्ती बाल्न तथा खाना बनाउन स्वच्छ ऊर्जाको प्रयोग बढेको, कम्प्युटर, मोबाइल, मोटर, मोटरसाइकललगायतको प्रयोग बढेको, साक्षरता दर बढेकोलगायतका तथ्यांक सार्वजनिक भएका छन् । त्यसैले आर्थिक अवसरहरूको सृजना गर्न सक्ने हो भने मुलुकमा समृद्धिको राम्रो लक्षण देखिएको छ । त्यसैले नीतिनिर्माताहरूले स्रोतहरूको समुचित उपयोग र त्यसबाट प्राप्त लाभहरूको समतापूर्ण वितरणतर्फ विचार पुर्याउन आवश्यक छ । यो जनगणनाले जुन किसिमका सूचकांकहरू सार्वजनिक गरेको छ, त्यसले मुलुकको आर्थिक विकासका लागि जनसांख्यिक आधार बलियो बन्दै गएको देखिन्छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ७१, बुधवार १३ मङ्सिर, २०६९