साउन २५, काठमाडौं । ज्योति लाइफ इन्स्योरेनस कम्पनीको विशेष साधारणसभा मंगलवार पोखरामा सम्पन्न भएको छ । सभा वाटफ्रन्ट रिसोर्ट लेकसाइडमा आयोजना गरिएको थियो ।
सभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले बीमा समितिको निर्देशन अनुसार पूँजी वृद्धिको लागि मर्जर तथा एक्विजिशन विषयमा गरिएको सञ्चालक समितिको निर्णय अनुमोदन गरेको हो ।
यस्तै संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व संरचना क्रमशः ७०ः३० को अनुपातमा रहेको संस्थापकहरूको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पनि पारित भएको छ ।
अब कम्पनीको शेयर संरचना परिमार्जन पश्चात संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।