काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीले यही पुस २९ गते पोखराको बुद्धचोकस्थित होटल टास्क इन्टरनेशनल प्रा.लिमा १५ औं वार्षिक साधारण सभा गर्न लागेको हो । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ९ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरूको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।