जेठ २७, दोलखा । दोलखाको बहुचर्चित कालिञ्चोक भगवती मन्दिरको भेटी टेण्डर प्रक्रियाबाट सङ्कलन गरिने भएको छ । स्थापनाकालदेखि कालिञ्चोक आसपासमा बसोवास गर्नेहरूले भेटी सङ्कलन गर्दै आएका थिए । आगामी केही समयपछि टेण्डर आह्वान गरी सङ्कलन कार्यलाई व्यवस्थित गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय, दोलखाले कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएका भक्तजनले चढाएको भेटी टेण्डर प्रक्रियाबाट सङ्कलन गर्ने प्रक्रिया अगाडि बढाएको हो । कालिञ्चोकमा चढाइएको भेटी अव्यवस्थित भई हिनामिनासमेत भएको गुनासोका आधारमा प्रशासनले व्यवस्थित गर्ने प्रक्रिया थालनी गरेको हो ।
व्यवस्थित गरिएपछि सङ्कलित भेटीले राज्यको आम्दानी पनि बढाउने र मन्दिरको सम्पूर्ण व्यवस्थापनमा समेत सजिलो हुने सुझाव आएपछि सो सम्बन्धमा सरोकारवालाको बैठक बसेको थियो । कालिञ्चोक भगवती गुठी व्यवस्थापन समितिलाई व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीको अध्यक्षतामा बसेको बैठकले मन्दिरको नाममा स्थापित गुठीको जग्गा सङ्कलन गर्न जिल्ला नापी कार्यालयलाई जिम्मेवारी दिने, सार्वजनिक यातायातका साधन नियमित सञ्चालन गर्ने, नित्य पूजाका लागि दुईजना पुजारी व्यवस्थापन गर्ने, कुरी बजारमा रहेका ३३ ओटा होटल तथा घरलाई स्क्वायर फिटका आधारमा भूउपयोगको नीति लिई दस्तुर लिनेलगायत महŒवपूर्ण निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
जिल्ला वन कार्यालयलाई मन्दिर आसपासमा बनाइएका टहरासमेत १ महीनाभित्र हटाउने जिम्मेवारी दिइएको छ । कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै मन्दिर आसपासमा खानेपानीको पहुँच, सरसफाइ, बाटो व्यवस्थित गर्नेलगायत चुनौती थपिएकोमा बैठकले त्यसको निराकरणसमेत गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।