काठमाडौं । गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म कामना सेवा विकास बैंकले ६० करोड ३२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३६ करोड १३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा खुद नाफा बढाएको हो ।
गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेर सञ्चालन नाफा बढेपछि खुद नाफामा सकारात्मक प्रभाव परेको हो । अघिल्लो आवमा ५२ करोड २६ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज रकम गत आवमा ३० करोड ४० लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ६३ करोड ९१ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवको चौथो त्रैमाससम्म ९७ करोड ८४ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो ।
गत आवको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३० करोड २९ लाख रुपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ छ भने जगेडा कोष रकम २ अर्ब ११ करोड ५६ लाख रुपैयाँभन्दा बढी छ ।
चौथो त्रैमाससम्म ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ४५ अर्ब ९४ करोड ४३ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो आवमा ३ दशमलव शून्य ९ प्रतिशत रहृेको कम्पनीको निष्क्रिय कर्जा गत आवमा ३ दशमलव २१ प्रतिशत कायम भएको छ । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा छ ।