काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । यस्तो अग्राधिकार शेयर मूलत: बैंक तथा वित्तीय संस्थाहरूले पूँजी उठाउन जारी गर्छन् । निश्चित लाभांश दिने प्रतिज्ञा गरेर यस्तो शेयर जारी गरिन्छ र भुक्तानी नगरेको लाभांश पछिल्ला वर्षहरूमा जोडिँदैन ।
अन्य खालको अग्राधिकार शेयर बैंक तथा वित्तीय संस्थाहरूले यसअघि पनि जारी गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले गत असारमा आर्थिक वर्ष (आव) २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न सक्ने व्यवस्था गरेको थियो । बैंक तथा वित्तीय संस्थाको पूँजीकोष वृद्धि गर्न सहयोग गर्ने हेतुले यो व्यवस्था गरिएको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँका दरले हुन आउने ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्न माघ ८ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको हो । गत असार १७ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरी यस्तो अग्राधिकार शेयर जारी निर्णय गरेको थियो ।
कम्पनीले अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गत असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारणसभाबाट पारित गरेको थियो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानाले कम्पनीले प्रस्ताव गरेबमोजिम अग्राधिकार शेयर जारी गर्ने गरी माघ ८ गते राष्ट्र बैंकको स्वीकृतिपत्र प्राप्त गरेको जानकारी दिए ।
राष्ट्र बैंकको स्वीकृति प्राप्त भइसकेकाले अब कम्पनीले धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिने प्रक्रिया अघि बढाउने उनले बताए । उनका अनुसार कम्पनीले कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताका लागि मात्र अग्राधिकार शेयर जारी गर्नेछ ।
राष्ट्र बैंकले उक्त व्यवस्था सार्वजनिक गरेको ५ दिनपछि नै कामना सेवा विकास बैंकले यस्तो अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको होे । यो बैंक हाल ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ चुक्तापूँजी भएको कम्पनी हो ।
चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको रिटर्न अर्निङ ३७ करोड ५५ लाख ८४ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी कायम रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३२ करोड २४ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा बढेको छ । गतवर्ष यस अवधिसम्म कम्पनीले २५ करोड ८९ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो ।
पछिल्लो व्यवस्थाबमोजिम पहिलो कम्पनीका रूपमा कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्न लागेको हो । यस कम्पनीले लाभांश वितरणलाई समेत निरन्तरता दिँदै आएको छ । आव २०७८/७९ सम्म निरन्तर लाभांश वितरण गरेको कम्पनीले आव २०७९/८० मा भने लगानीकर्ताको हात खाली बनाएको थियो । गत आव २०८०/८१ को मुनाफाबाट कम्पनीले ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गरेको छ ।
कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल र पूँजी फिर्तामा अग्रस्थानमा अग्राधिकार शेयर आउने गर्छ । अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र बाँकी शेयरधनीमा बाँडिन्छ । अग्राधिकार शेयर जारी गर्दा लाभांश दर तोकेर जारी गरिने भएकाले घटी बढी गर्न पाइँदैन । साधारण शेयरबापतको लाभांश बढी वा कम हुने भएपछि कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश दर तोकेर जारी हुने अग्राधिकार शेयरमा मुनाफा भएको वर्ष सोही दरमा लाभांश वितरण गर्नुपर्ने हुन्छ । यो बैंकसँगै आधा दर्जनभन्दा बढी कम्पनी अग्राधिकार शेयर जारी गर्ने तयारीमा छन् ।
नेपाल राष्ट्र बैंकले गत असारमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न सक्ने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न विभिन्न शर्त तोकेको छ । शेयरको भुक्तानी अवधि तोकी निष्कासन गर्न नपाइने, संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्ने, यस्तो शेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्ने र कुनै पनि सुरक्षण नराखी निष्कासन गर्नुपर्ने राष्ट्र बैकको निर्देशनमा उल्लेख छ ।
शेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँट हिसाबमार्फत चालू आवको मुनाफाबाट मात्र गर्नुपर्नेछ । यसका लागि सञ्चित मुनाफा खाता एवं कुनै पनि कोष खर्च गर्न पाइने छैन ।