प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत काठमाडौं–८ बाट हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका छन् सुमन सायमी (Suman Sayami) । निर्वाचन नजिकिँदै गर्दा उनी चुनावी प्रचारप्रसारमा व्यस्त छन् । सायमीसँग अभियानकर्मी गणेश सुवेदीले गरेको संवाद ।
चुनावको माहोल कस्तो ? जितिन्छ त ?
माहोल उत्साहजनक छ, जनमानसमा निकै उत्साह छ । ‘घरदैलो गर्दा पहिले थाहा पाइएन, अहिले त सुमनभाइलाई जिताउनुपर्छ’ भन्नुभएको छ । अहिले घरदैलोमै व्यस्त छौं । जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर योजना बनाएका छौं । मलाई चुनाव जित्न कुनै समस्या छैन । किनकि म जनताले उठाएको उम्मेदवार हुँ । त्यसकारण जनताको मत मलाई नै आउँछ ।
जनताले तपाईंलाई भोट किन दिने ?
विगतमा मैले स्थानीयका लागि गरेको काम, चलाएको अभियान लगायत कारण अहिलेसम्म मलाई ‘तपाईंलाई भोट किन दिने ?’ कसैले भन्नुभएको छैन । किनकि म जनतासँग नजिक भएर काम गरेको उम्मेदवार हुँ । म स्थानीय निर्वाचनमा पनि उठेँ । स्थानीय मुद्दालाई स्थापित गरेँ । यसपालि प्रतिनिधिसभामा पनि उठ्नुपर्छ भन्ने माहोल बन्यो । त्यसैले किन भोट भन्ने प्रश्न नै छैन । सबैभन्दा ठूलो आधार मैले लिएको मुद्दा नै हो । सडक विस्तार गरिँदा गैरन्यायिक तवरले विस्थापित भएकाहरूलाई रोजगारीसहितको पुनःस्थापना मेरो मूल योजना छ । संवैधानिक मौलिक हक, शिक्षा, स्वास्थ्य र रोजगारीका विषय उठाएको छु । यस आधारमा पनि मलाई जनताले मत दिनुहुन्छ, दिनुपर्छ ।
तपाईंसँग विकासका योजना के के छन् ?
स्थानीयलाई रोजगारी (Local Employment) सृजना गर्ने योजना छ । युवालाई कसरी स्वदेशमै राख्न सकिन्छ, आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिएको छु । म आफै पनि उद्यमी हुँ । त्यसैले ‘एक घर, एक उद्यमी’ सृजनाको योजना बनाएको छु । पर्यटन प्रवर्द्धनका (Tourism Promotion) योजना छन् । राजनीति (Politics) ठीक ठाउँमा नहुँदा उल्लेख्य संख्यामा पर्यटक (Tourist) भित्र्याउन सकिएको छैन । त्यसका पनि योजना छन् ।
निःशुल्क शिक्षा र स्वास्थ्य (Free Education and Health) का योजना छन् । सरकारी विद्यालय (Government School) तथा स्वास्थ्य संस्थाहरूलाई पूर्वाधार सम्पन्न बनाउनुपर्छ । व्यवस्थित शहरीकरण (Urban Planning) को योजना पनि छन् । यी लगायत विभिन्न योजना अघि सारेको छु, जुन दिगो विकास र समृद्धिका आधार बन्नेछन् ।
स्थानीयको आर्थिक विकासका लागि नीतिगत र स्थानीय स्तरबाट कस्तो पहल गर्नुहुन्छ ?
संसदीय चुनाव नीति निर्माण गर्ने ठाउँमा जाने माध्यम हो । यस्तै संघीय संसद् मुख्यतः कानून बनाउने, भएका ऐनकानून आवश्यक संशोधन गर्ने ठाउँ हो । त्यसैले जनताको हितमा हुने कानून निर्माणका लागि पहल गर्छु । स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्नेछु । परापूर्वकालदेखि बसेकाहरू विस्थापन हुनुपर्दा विकल्प समेत नपाउने अवस्था छ । यो अवस्था अन्त्य गर्न मेरो पहल रहनेछ । जनताले पाउनुपर्ने मौलिक हकअधिकारको प्रत्याभूतिका लागि काम गर्नेछु । समग्रमा जनताले महसूस गर्नेगरी विकास, आर्थिक समृद्धि र हकअधिकारका लागि गर्नुपर्ने काममा मेरो ध्यान केन्द्रित हुनेछ ।