काठमाडौं । बझाङको सदरमुकाम जोड्ने जयपृथ्वीबहादुर सिंह मार्गको नियमित मर्मत सम्भार र स्तरोन्नति नहुँदा उक्त सडक कच्ची जस्तै बन्दै गएको छ । मर्मत सम्भार र स्तरोन्नति नगरिँदा स्थानीय बासिन्दा तथा खप्तड क्षेत्रलगायत पर्यटकीय स्थल घुम्न जाने पर्यटक जोखीमपूर्ण यात्रा गर्न बाध्य छन् । चीनको तिब्बतसँग जोडिँदै गरेको यो सडक अन्तरराष्ट्रिय स्तरको भनिँदै आए पनि अत्यन्तै कच्ची र बिग्रेको अवस्थामा रहेको छ ।
सडक निर्माणको ४ दशक पुगिसक्दा पनि सिङ्गल लेनबाट स्तरोन्नति गरिएको छैन । यो सडकको १ सय ८ किलोमिटर लामो खोडपे–बझाङ खण्डका धेरै ठाउँमा पहिरो गएर झनै साँघुरो बनाइदिएको छ । यो सडकमा यात्रा गर्दा खाल्डाखुल्डीमा गाडी हल्लिएर सेतीनदीमा खसिने हो कि पहिरोमा ठोक्किने हो भन्ने पीर लिएर यात्रा गर्न बाध्य हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
३ मिटर ५० सेण्टिमिटर मात्र चौडाइ रहेको सो सडकमा अर्को गाडीलाई साइड दिने समस्या रहेको र साइड दिने क्रममा सयौंओटा ससाना दुर्घटना हुने गरेको स्थानीय यातायात चालक हरि थापाले बताए । यो सडक खण्डका धेरै ठाउँमा कडा चट्टान भएकाले सडकको चौडाइ ३ मिटर मात्र भएकाले ठूला गाडीलाई बढी जोखीम रहेको प्राविधिकहरूको भनाइ छ ।
यो मार्गको बैतडी र बझाङका विभिन्न ठाउँमा पहिरोका कारण २०–२२ पटक अवरुद्ध भइसकेको तथ्याङ्क प्रहरीसँग छ । यसका साथै धेरै ठाँउमा पुल नहुँदा सडकमा माटो जम्मा भई भिरालो र धूलाम्य भएको छ । बेलाबेलामा पहिरो गइराख्ने भएकाले डिभिजन सडक कार्यालयले एउटा डोजर तयारी अवस्थामा राखेको छ । भीर अनि साँघुरो यो सडकमा ठूलाठूला सवारीसाधन चल्ने हुँदा बझाङबाट राजधानी काठमाडौंलगायत सुदूरपश्चिमका पहाडी र तराईका जिल्लामा जाने यात्रु त्रासदीतपूर्ण यात्रा गर्न बाध्य छन् ।
सडकको स्तर नहेरी यात्रुहरूलाई सुविधा दिने नाममा एसी, डिलक्स, मेट्रो आदि नाम दिएर ४५ सीट क्षमताका ठूला सवारीसाधन सञ्चालन गर्दा दुर्घटनाको जोखीम बढ्दै गएको प्राविधिकहरू बताउँछन् । डिभिजन सडक कार्यालय बैतडीका ललिजन रावल भन्छन्, ‘यात्रुको चाप र यातायातको चापलाई हेर्दा जयपृथ्वी राजमार्गलाई घटीमा डब्बल लेनको बनाउनुपर्ने अवस्था छ । स्थानीय यात्रु भन्छन्, ‘चढाउने होडबाजीका कारण साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाउने, ओभरटेक गर्ने क्रम बढेकाले दुर्घटना हुने खतरा बढेको छ । ’
बझाङको सडक यति साँघुरो छ कि झ्यालबाट सडक नियाल्यो भने सडक होइन, सेतीनदी बगेको देखिन्छ । स्थानीय रवि धामी भन्छन्, ‘बाहिर हेर्दा सडक देखिँदैन डरैडरको यात्रा गर्नुपर्ने अवस्था छ ।’
छिटोभन्दा छिटो यो सडकको स्तरोन्नति र मर्मतसम्भार गर्ने एउटै माग स्थानीय बासिन्दाको छ । ‘गाडीको बडीले सडकको भित्ता छुने वा पछाडिको पाङ्ग्राले सडक छोड्ने खतराका बीच बस गुडाउनुपर्ने बाध्यता छ,’ चालक रवि रोकायाले भने ।
यो राजमार्गमा उग्रतारा, सुदूरपश्चिम, कर्णाली, महाकाली, मालिका र पवन दूत यातायात व्यवसायी समितिका बसहरू, मालवाहक गाडी र अन्य साना सवारी गरी दैनिक झण्डै २ सय सवारीसाधन चल्ने गरेका छन् ।
यो सडकलाई विश्व बैङ्कको सहयोगमा ६ वर्षअघि कालोपत्र गरिएको थियो । राजमार्ग विश्व बैङ्कको करीब २० करोड रुपैयाँको सहयोगमा स्टील बार (स्टील क्रश बेरियर) लगाइएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले २०७२ साल फागुनदेखि विश्व बैङ्कको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजनाअन्तर्गत स्टील बार लगाइएको भए पनि साँघुरो भएकाले दुर्घटनाको भय उत्तिकै रहेको छ ।
यो राजमार्गअन्तर्गत पर्ने बैतडीको झौलेक, ज्यापू तथा बझाङको जाल्याबगर, देउरा, देउलेक, रायल, बागथला, नारुगाडलगायत ठाउँमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग पूर्णरूपमा बिग्रिएको छ । बझाङलाई राजधानी काठमाडौं, धनगढी, महेन्द्रनगर जोड्ने यो एक मात्र मार्ग भएकाले यो राजमार्ग अवरुद्ध हुँदा समस्या हुने गरेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.