वीरगञ्ज । औद्योगिक तथा व्यापारिक घराना केडिया समूहको सामाजिक सेवामा सक्रिय केडिया सेवा ट्रष्टद्वारा वीरगञ्जमा सञ्चालित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालले स्वर्ण महोत्सव मनाएको छ ।
महोत्सवको अवसरमा सोमवर आयोजिक एक समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आँखा उपचारको क्षेत्रमा केडिया आँखा अस्पतालको योगदानको प्रशंशा गरे ।
नेपालको संविधानले स्वास्थ्यको हकको व्यवस्था गरेको स्मरण गर्दै उपराष्ट्रपति यादवले सरकारले सो अनुसारका नीति र कार्यक्रमहरू अघि बढाएको बताए । सरकारको नीति र लक्ष्यलाई सहयोग पुग्ने गरी उपचार सेवालाई प्रभावकारी बनाउन उनले आग्रह गरे ।
यो अस्पतालबाट अहिले मधेश प्रदेशसँगै बागमती र भारतको बिहारसँगै उत्तर प्रदेशका बासिन्दासमेतलाई लाभ पुगेको अस्पतालका अध्यक्ष राजेशकुमार केडियाले बताए । अस्पतालले हालसम्म ४ लाख आँखा सर्जरी र २७ लाख जनालाई उपचार सेवा दिएको जानकारी पनि उनले दिए ।
आँखाका बिरामीका लागि सर्वसुलभ उपचार र आँखा स्वास्थ्यबारे जनचेतना जगाउने काम गर्दै आएको पनि उनले बताएका छन् । आँखा अस्पताललाई मुलुककै नमूना अस्पतालको रूपमा विकास गर्ने लक्ष्य राखिएको केडियाको भनाइ थियो ।
सो अवसरमा अस्पतालका लागि नयाँ भवनको शिलान्याससमेत गरिएको छ । करीब २० करोडको लगानीमा निर्माण हुने पाँच तले भवनको उपराष्ट्रपति यादवले शिलान्यास गरे ।