काठमाडौं । नेपाली मौलिक खाना विश्वव्यापी गर्दै खानाको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन गर्न छनोट गरिएका २३ ओटा मौलिक नेपाली खानाको खाद्य प्रयोगशालामा परीक्षण सम्पन्न भएको छ । नेपाली मौलिक खानामा पर्याप्त क्यालोरी भए पनि यसलाई विश्वव्यापी बनाउने क्रममा यसको परीक्षण पनि जरुरी भएकाले ती खानाको क्यालोरीसहित आवश्यक परीक्षण गरिएको होटल एशोसिएशन नेपाल (हान) का महासचिव विनायक शाहले जानकारी दिए ।
नेपाली खानाको छनोट गर्न गठित कार्यदलले मौलिक खानाहरू छनोट गरी क्यालोरी टेष्टका लागि केही दिनअघि सरकारको खाद्य प्रयोगशालामा पठाइएको थियो । नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न शुरू भएको राष्ट्रिय अभियानले गत कात्तिक महीनामा वरिष्ठ पर्यटन व्यवसायी तथा यस अभियानका अभियन्ता कर्ण शाक्यको संयोजकत्वमा समिति गठन गरी खानाको खोज तथा अनुसन्धान थालेको थियो । कार्यदलमा प्रतिष्ठित सेफ, व्यावसायिक खाद्य प्राविधिज्ञ, डाइटिसियनलगायत होटल सङ्घ नेपाल, रेष्टुराँ एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) र सेफ एशोसिएशन अफ नेपालका पदाधिकारीको सहभागिता थियो ।
कार्यदलले १ महीनाभन्दा बढीको समय लगाएर हिमाल, पहाड, उपत्यका तथा तराईका दुई दर्जनभन्दा बढी मौलिक खानाको अध्ययन गरी प्रारम्भिक मेनु तयार गरेर सोहीअनुरूप खाना बनाई परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।
प्रयोगशालाबाट खानाको परीक्षण भएकाले यसलाई व्यापक रूपमा प्रचारप्रसार गर्न २०७५ वैशाख १ गते काठमाडौंसहित विश्वभरि रहेका गैरआवासीय नेपाली च्याप्टरहरूबाट ‘फूड फेस्टिबल’ गरी नेपाली मौलिक खानाको विश्वव्यापीकरण गरिने महासचिव शाक्यले जानकारी दिए ।
काठमाडौंमा आयोजना गरिने ‘फूड फेस्टिबल’मा प्रधानमन्त्रीसहित विभिन्न देशका राजदूतलाई समेत आमन्त्रण गरिने उनले बताए ।
विश्वव्यापी रूपमा सामान्यतः २ सयदेखि ३ सय क्यालोरीसम्मको खानालाई सन्तुलित खानाका रूपमा लिइन्छ । त्यसकारण कार्यदलले सोहीअनुसारको रेसिपी तयार पारी क्यालोरी टेष्टका लागि नेपाल सरकारको खाद्य प्रयोगशालामा पठाएको उनले बताए । प्रयोगशालाबाट छनोट गरिएका खाना सन्तुलित भएको रिपोर्ट आएको जानकारी दिँदै शाक्यले छनोट गरिएका मौलिक खानालाई आवश्यकताअनुसार परिष्कृत गरेर विस्तृत विवरण (आवश्यक सामग्री, पकाउने विधिसमेत) तयार पारिएको र यसलाई केही समयमै विश्वव्यापीकरण गरिने उनले बताए ।
कार्यदलले खासगरी चुक, हिङ, जिम्बु, टिमुर, ज्वानो, मेथी, छ्यापीलाई राष्ट्रिय स्वादको रूपमा ग्रहण गर्दै नेपाली खाना थाली, सेकुवा, छोइला, गुन्द्रुक, अचार, सुकुटी, चुकौनी, विभिन्न खालका सुप तथा अचारलगायत छनोट गरेको छ ।
यो अभियानलाई आफ्नो अभियानका रूपमा लिँदै नेपाल पर्यटन बोर्डले ‘एक्सपेरियन्स नेपाल अभियान’ घोषणा गरी नेपाल भ्रमण वर्ष यूरोप २०१७ का संयोजकसमेत रहेका दीपेश शाक्यलाई अभियान संयोजक तोकेको छ । ‘एक्सपेरियन्स नेपाल अभियान’का संयोजक शाक्य यतिबेला विदेशमा रहेको दूतावास, एनआरएनए, विदेशी डायस्पोरा र स्थानीय समुदायसँग सहकार्य गरी यसको प्रचारप्रसार तथा प्रवद्र्धनमा जुटेका छन् । उनले आयरल्याण्ड, मेलवर्नलगायत ठाउँमा नेपाली मौलिक खानाको प्रवद्र्धनमा कार्यक्रमसमेत गरिएको जानकारी दिए । उनले विश्वको ८० भन्दा बढी मुलुकमा नेपाली जातिको बसोवास तथा तिनले सञ्चालन गर्ने नेपाली रेष्टुराँ व्यवसाय तथा कतिपय देशका पाँचतारे होटलका सेफलगायत महत्त्वपूर्ण भूमिकामा रहेकाले पनि नेपाली खानालाई अझ परिमार्जन र परिष्कृत गर्दै विश्वव्यापीकरण गर्न सफल हुने अभियानलाई बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.